असार २३ र ३० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन्। सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले २३ र ३० गते बसेको मन्त्रिपरिषद्का निर्णयहरू बुधवार सार्वजनिक गरेका हुन्।
मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीलाई न्यूयोर्कमा हुने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई चीन भ्रमणमा सहभागी हुन स्वीकृति दिएको छ।
यसैगरी नेपाल राष्ट्र बैंकबाट नयाँ हजार रुपैयाँ दरका नोट प्रकाशनको तयारी स्वरूप नोटको चित्र तथा आकार स्वीकृत गरिएको छ। साथै, विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि विश्व बैंकबाट थप १०.८ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार्ने निर्णय भएको छ। साथै, प्रत्येक वर्ष साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’ को रूपमा मनाउने र उखु उत्पादक कृषकहरूलाई प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान दिने निर्णय गरेको छ।
यसैगरी मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका ३७ जना महासेनानीहरूको सरुवा गर्ने, एक जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा र एक महासेनानीलाई सहायक सेनानीमा बढुवा गर्ने निर्णय गरेको छ।
वन तथा वातावरण मन्त्रालयले गुल्मीको रेसुङ्गा नगरपालिकामा जिप लाइन तथा स्काई साइक्लिङ परियोजनाका लागि राष्ट्रिय वनको प्रयोग तथा नर्वे र चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा मन्त्रीहरूको सहभागितालाई स्वीकृति दिएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चीनको संघाईमा हुने ‘ विश्व कृत्रिम बुद्धिमत्ता सम्मेलन २०२५’ (World Artificial Intelligence Conference) मा मन्त्री पृथ्वी सुब्बा गुरुङलाई, तथा शिक्षा मन्त्रालयले 'Nuclear Security Response WorkshopÚ मा सचिवलाई चीन पठाउने निर्णय गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई चीनको बेइजिङमा हुने 'Global Health Forum २०२५’ मा सहभागी हुने स्वीकृति प्रदान गरिएको छ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू र
१. २०८२ असार ३० गतेदेखि साउन ८ गतेसम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।
२. नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवको अवसरमा २०८२ साउन ६ गतेदेखि १२ गतेसम्म गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय सुरेन्द्रराज पाण्डेलाई चीन भ्रमणको लागि स्वीकृति प्रदान गर्ने।
३. नेपाल राष्ट्र बैंकबाट एक हजार रुपियाँ दरको नयाँ बैंक नोट प्रकाशनको लागि बैंक नोटको चित्र र आकार स्वीकृत गर्ने।
४. विश्व बैंकबाट विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने थप १०.८ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता प्राप्त गर्ने।
५. प्रत्येक वर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने।
६. आर्थिक वर्ष २०८१/८२ का लागि उखु उत्पादक कृषकहरूलाई प्रदान गर्ने अनुदान रकम प्रतिक्वीन्टल रु. ३५ कायम गर्ने।
७. नेपाली सेनाका ३७ जना महासेनानीहरूको सरुवा गर्ने।
८. रेसुङ्गा नगरपालिका गुल्मीलाई जिप लाइन र स्काई साइक्लिङ निर्माणको लागि गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं ८ मा रहेको राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति प्रदान गर्ने।
९. २०८२ साउन ९ गतेदेखि १४ गतेसम्म नर्वेमा आयोजना हुने कार्यक्रममा सहभागी हुन माननीय वन तथा वातावरण मन्त्रीलाई स्वीकृति प्रदान गर्ने।
१०. ग्रामीण सडक सञ्जाल सुधार आयोजनालाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकामा रहेको आलोक चक्रपथअन्तर्गत गिरुवारी– झ्यालबास– डण्डा – चौराहा– पनौती– बसन्तपुर सडकखण्ड स्तरोन्नतिका लागि राष्ट्रिय वनको ३।९९ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने।
११. कोशी गाउँपालिका, सुनसरीको केन्द्र वडा नं. १ लौकहीबाट परिवर्तन गरी वडा नं. ३ बद्रीपुल कायम गर्ने।
१२. कालिगण्डकी गाउँपालिका, स्याङ्जाको केन्द्र वडा नं. ४ कट्टीबाट। परिवर्तन गरी वडा नं. ४ गहलाम कायम गर्ने।
१३. २०८२ साउन १० गतेदेखि १२ गतेसम्म चीनको संघाईमा आयोजना। हुने २०२५ मा सहभागी हुन सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङलाई स्वीकृति प्रदान गर्ने।
१४. स्वास्थ्य तथा जनसङ्ख्या २०८२ साउन ८ र ९ गते चीनको बेइजिङमा आयोजना हुने सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय प्रदीप पौडेललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।
१५. रफ्रेश सेन्टर प्रा.ली. लाई पर्यापर्यटन व्यवसाय गर्ने।
१६. कार्यको लागि सुनकोशी गाउँपालिका वडा नं.६ सिन्धुलीमा रहेको हैसियत बिग्रेको राष्ट्रिय वनको जग्गा र धार्चे कृषि जडीबुटी उत्पादन तथा प्रशोधन फार्मलाई वन पैदावरमा आधारित उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्ने कार्यको लागि धार्चे गाउँपालिका वडा नं. ४ लाप्राक, गोरखामा रहेको हैसियत बिग्रेको राष्ट्रिय वनको जग्गा कबुलियती वनको रूपमा उपलब्ध गराउन स्वीकृति दिने।
१७. शिक्षा, विज्ञान तथा प्रविधि २०८२ साउन ५ गतेदेखि १६ गतेसम्म चीनमा आयोजना हुने कार्यक्रममा सचिव (विज्ञान तथा प्रविधि) लाई सहभागी हुन स्वीकृति दिने।
१८. नेपाल र जापान सरकारबिच सन् २०१९ मार्च २० मा हस्ताक्षर भएको जापानमा निश्चित सीपयुक्त कामदार पठाउने विषयको समझदारी पत्रको अवधि १९ मार्च २०२४ बाट थप पाँच वर्षका लागि नवीकरण गर्न स्वीकृति दिने।
१९. जल तथा ऊर्जा आयोगको सचिवालय र अन्तर्गतका कार्यालयहरूको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने।
२०. नेपाल लेखा परीक्षण सेवा समुहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा नायव महालेखापरीक्षक श्री नारायण एम.सी. लाई बढुवा गर्ने।
२१. २०८२ साउन ११ गतेदेखि १३ गतेसम्म इथियोपियामा आयोजना हुने कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. जय बहादुर टण्डनलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।
२२. नेपाल बिमा प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष श्री शरद ओझाको आचरण, कार्यक्षमता र पदीय जिम्मेवारी पालना सम्बन्धमा समग्र रूपमा छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश श्री कृष्ण गिरीको अध्यक्षतामा श्री जीवन प्रकाश सिटौला र श्री कपिलदेव ओली सदस्य रहेको छानबिन समिति गठन गर्ने।
२३. छानबिन समाप्त भई अर्को व्यवस्था नहुन्जेल सम्मका लागि नेपाल बीमाप्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भई कामकाज गर्ने गरी अर्थ मन्त्रालयका सहसचिव श्री सेवन्तक पोखरेललाई तोक्ने।
२४. निर्माणाधीन नागढुंगा सुरुङ्गमार्ग निर्माण आयोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ५ अर्ब ७० करोड बराबरको थप सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने।
२५. २०८२ साउन ६ गतेदेखि ८ गतेसम्म दक्षिण अफ्रिकाको जोहानसबर्गमा आयोजना हुनेमा दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा. कपिल मान श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।
२६. जिल्ला समन्वय समिति डडेल्धुराको नाममा रहेको २–६–१–२ रोपनी जग्गा अमरगढी नगरपालिका, डडेल्धुरालाई बहुउद्देश्यीय भवन निर्माणको लागि उपयोग गर्न स्वीकृति दिने।
२७. राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त अध्यक्ष पदमा डा. खगराज शर्मा, रुपन्देहीलाई नियुक्ति गर्ने।
२८. फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको कार्यविधि मिति २०८२/३/२९ देखि चार महिनाका लागि थप गर्ने।