डिभिजन वन कार्यालय कैलालीले गोदावरी नगरपालिका वडा नं. ४ स्थित चुरे वन क्षेत्रमा भएको अतिक्रमण हटाउने क्रममा टेम्पु भीरबाट खसालेको भन्ने सामाजिक सञ्जालमा फैलिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कार्यालयले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा आएका कुरा ‘भ्रामक अफवाह’ भएको दाबी गर्दै वास्तविक तथ्य सार्वजनिक गरेको हो।

वन कार्यालयका अनुसार गोदावरी सामुदायिक वनको गाईमारे चुरे वन क्षेत्रमा विगत लामो समयदेखि सडक किनारको सार्वजनिक वन क्षेत्रलाई गैरकानुनी ढङ्गले भागबन्डा गरी खोका–छाप्राहरू खडा गर्ने र सरकारी वन जमिन कब्जा गर्ने शृङ्खला चल्दै आएको थियो। सोही क्रममा विगत ५ महिना अघिदेखि उक्त क्षेत्रमा पुनः अवैध खोका–छाप्रा खडा गरिएका थिए।

विज्ञप्तिमा सामाजिक सञ्जालमा प्रचार गरिए जस्तो उक्त टेम्पो गुड्ने वा चालु हालतमा रहेको सवारीसाधन नभएको दाबी गरिएको छ। ‘त्यो चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएको, धकेलेर सार्न समेत गाह्रो हुने फलामे अस्थिपञ्जर मात्र थियो, जसलाई केवल वन क्षेत्र अतिक्रमण गर्ने उद्देश्यले पसलको टहरो (खोका) को रूपमा त्यहाँ स्थापना गरिएको थियो,’ वन कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सो कबाडी ढाँचालाई एक महिना अगाडि नै हटाउन निर्देशन दिँदा अन्य १० वटा छाप्राहरू हटे पनि कथित टेम्पोका सञ्चालक घनश्याम धामीले अटेर गरेको वन कार्यालयको भनाइ छ। वन कर्मचारीले धकेलेर उक्त टेम्पोलाई निजको घरसम्म पुर्‍याइदिए पनि निजले पुनः सोही ठाउँमा ल्याई पसल सञ्चालन गरेको र हटाउन खोज्दा ‘जे गरे पनि गर्नुस्’ भन्दै गालीगलौजमा उत्रिएको विज्ञप्तिमा उल्लेख छ।

शुक्रबार वन टोलीले पुनः अतिक्रमण हटाउने अभियान सञ्चालन गरेको थियो। सो क्रममा गुड्न नसक्ने उक्त कवाडी ट्याम्पोलाई बल प्रयोग गरी पन्छाउन खोज्दा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण सो अस्थिपञ्जर अनियन्त्रित भई दुर्घटना बस भीरबाट खस्न पुगेको कार्यालयले जनाएको छ।

डिभिजन वन कार्यालय कैलालीले कानुन बमोजिम गरिएको वन संरक्षणको कार्यलाई अतिरञ्जित र भ्रामक ढंगले प्रचारप्रसार नगर्न तथा सत्य तथ्य बुझिदिन आम नागरिकलाई हार्दिक अनुरोध गरेको छ।

111_yWZppgWDZw