राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि सङ्घर्ष र बलिदान गरेका नेपाली जनताको मुख्य चाहना नै सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, मुलुकको तीव्र विकास, शान्ति र प्रगति भएको बताएका छन्। 
लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो विचार व्यक्त गरेका हुन्।
राष्ट्रपति पौडेलले जनताको यो अभिष्ट पूरा गर्न आधुनिक समयमा हाम्रो राज्य संयन्त्रलाई समयानुकूल अझ जनमुखी, सेवामुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउन जरुरी रहेको उल्लेख गरे। कर्मचारीतन्त्रको भूमिकाबारे स्पष्ट पार्दै उनले भने, ‘स्वउत्प्रेरित, अनुशासित, आचरणशील, नैतिकवान्, जिम्मेवार तथा राष्ट्रप्रति समर्पित कर्मचारीले यो भूमिकालाई परिणाममुखी बनाउन सक्दछन्। प्रविधि र स्मार्ट सेवा प्रवाहमार्फत कर्मचारीतन्त्रले नागरिकको मन जित्न सक्नुपर्दछ। यसले नै लोकतन्त्रमा जनताको हित हुन्छ भन्ने भरोसालाई अभिवृद्धि गर्दछ।’
उनले संविधानले अङ्गीकार गरेको समावेशी लोकतन्त्रको मर्मअनुरूप स्थापित योग्यता प्रणालीको रक्षा गर्नु र यसको जगलाई थप मजबुत बनाउनुपर्ने खाँचो अझै रहेको स्पष्ट पारे। आयोगप्रतिको भरोसा र विश्वास एवं यसले अवलम्बन गरेको सिद्धान्त र प्रणालीका कारण मेहनती युवाहरूले लोकतान्त्रिक शासन व्यवस्थामा आफ्नो भविष्य सुरक्षित देख्न पाएको यथार्थलाई कसैले बिर्सन नहुने उनको भनाइ थियो। विगतमा हासिल गरेको अनुभव र ज्ञानसँगै विश्वव्यापी रूपमा विकसित भएका सिद्धान्त र प्रणालीको अध्ययनका आधारमा आफ्नो कामलाई भविष्यमा थप परिष्कृत गर्न आयोगले विशेष योगदान दिने विश्वास राष्ट्रपतिले व्यक्त गरे।
लोकसेवा आयोग सरकारी सेवामा कर्मचारी छनौट र भर्ना गर्ने एउटा महत्त्वपूर्ण निकाय भएको उल्लेख गर्दै उनले सदैव असल र उम्दा कर्मचारी छनौट गर्न सक्ने गरी आफ्ना कामलाई आधुनिक प्रविधिमा आधारित बनाउनुपर्नेमा जोड दिए। यसका साथै कर्मचारी छनौटमा समयसापेक्ष परीक्षण विधि र प्रविधि अवलम्बन गर्दै जानुपर्ने तर्फ विशेष ध्यान दिन उनले आग्रह गरे। आयोगको योगदानको प्रशंसा गर्दै उनले भने, ‘कर्मचारी छनौट, बढुवा र परामर्शका क्षेत्रमा आयोगले आजसम्म गरेको योगदान प्रशंसनीय छ। यो विश्वास, भरोसा एवम् प्रतिष्ठालाई आगामी दिनमा अझ प्रभावकारी तवरले पूरा गर्न तपाईँहरूले विशेष मेहनत गर्नु नै हुनेछ भन्ने मैले विश्वास लिएको छु।’
राष्ट्रपति पौडेलले लोकसेवा आयोगको कार्यक्षेत्र विस्तारसँगै आफ्ना कार्यसम्पादनलाई प्रविधिमैत्री, वैज्ञानिक, व्यवस्थित र गुणस्तरीय बनाई भावी योजना तय गर्नुपर्ने चुनौती रहेको औँल्याए। उनले यस वार्षिकोत्सवको क्षणमा विगतको कामको समीक्षा र भावी चुनौतीलाई सामना गर्ने गरी योजना तय गर्न आयोगलाई सुझाव दिए। साढे सात दशक लामो अवधिमा योग्यता, निष्पक्षता र स्वच्छता जस्तो मूल सिद्धान्तको जगमा रहेर आयोगले प्रभावकारी तवरले कार्यसम्पादन गर्नु खुसीको विषय भएको उनले बताए। 
निष्पक्षता र योग्यता नै कर्मचारी छनौटको उच्चतम कसी भएको र यही मूल्याङ्कनको अन्तर्यलाई अवलम्बन गरेकै कारण आयोगप्रतिको भरोसा आजसम्म अटुट रहेको उल्लेख गर्दै उनले यो भरोसा र विश्वास नै आयोगको ठुलो सम्पत्ति भएको स्पष्ट पारे।