बेलबारी नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै अत्याधुनिक सुविधासम्पन्न बेलबारी ५ रामपुरमा अवस्थित महेन्द्र  आधारभूतविद्यालय भवन उद्घाटन गरेको छ। उद्घाटन कार्यक्रममा नगर प्रमुखले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री, सुरक्षित र गुणस्तरीय शिक्षण वातावरणयुक्त बनाउने अभियानअन्तर्गत भवन निर्माण, कम्प्युटर, आईसीटी ल्याब तथा इन्टरएक्टिभ प्यानल बोर्ड जडानको कार्यलाई तीव्रता दिइएको बताए। 

नगर प्रमुख राईले विद्यालय भवन निर्माणका लागि विभिन्न तहका सरकारबाट प्राप्त बजेट र नगरपालिकाको लगानीमार्फत आठ कोठे भवन निर्माण सम्पन्न भएको जानकारी दिए। भवनसँगै कम्प्युटर तथा इन्टरएक्टिभ प्यानल बोर्डको व्यवस्था गरी विद्यार्थीलाई आधुनिक शिक्षण–सिकाइमा जोड्ने लक्ष्य रहेको बताए ।

 नगर प्रमुख राईले  टिनको छानामुनि अध्ययन गर्न बाध्य विद्यार्थीलाई क्रमशः पक्की भवनमा स्थानान्तरण गरिने उल्लेख गर्दै विद्यालयको भौतिक पूर्वाधार सुधार, पंखा, सिलिङ तथा आवश्यक शैक्षिक सामग्रीको व्यवस्थापनमा नगरपालिका प्रतिबद्ध रहेको बताए। 

चालु आर्थिक वर्षमा मात्रै विभिन्न विद्यालयमा १८ वटा नयाँ कक्षाकोठा निर्माण भइरहेको जानकारी पनि उनले दिए। शिक्षाको गुणस्तर सुधारका लागि नगरपालिकाले गणित विषयमा अतिरिक्त कोचिङ कक्षा सञ्चालन गर्दै शिक्षकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ। यसबाट कक्षा ८ र एसईईको नतिजामा उल्लेखनीय सुधार आएको दाबी गर्दै उनले सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि बढ्दो क्रममा रहेको बताए।