श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ) ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले दिएको विवादास्पद अभिव्यक्ति तत्काल संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा उनले नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको उक्त अभिव्यक्ति ‘राष्ट्रघाती’ भएको टिप्पणी गरे। त्यसलाई प्रधानमन्त्री स्वयंले सदनमा उपस्थित भएर सच्याउनुपर्ने माग उनले माग गरे।

“प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति अविलम्ब रेकर्डबाट हटाइनुपर्छ भन्ने माग हामीले निरन्तर उठाइरहेका छौँ, तर त्यसको सुनुवाइ भएको छैन,” उनले भने, “यसले सदनको गरिमा बढाएको छैन। उक्त राष्ट्रघाती अभिव्यक्ति प्रधानमन्त्रीले आफ्नै मुखबाट सच्याउनुपर्छ भन्ने हाम्रो माग यथावत् छ।”

उनले नेपालमा रहेका भुटानी शरणार्थीको मानवीय समस्याप्रति पनि सरकारको ध्यानाकर्षण गराए। दशकौँदेखि शरणार्थी जीवन बिताइरहेका भुटानी नागरिकले स्वदेश फिर्ती वा तेस्रो मुलुकमा रहेका आफ्ना परिवारका सदस्यसँग पुनर्मिलनको माग गरिरहेका उनले उल्लेख गरे। उनले यो विषयमा सम्बन्धित मन्त्रालयले गम्भीरता देखाउनुपर्ने बताए।

“आफ्नो राष्ट्र छोडेर शरणार्थीका रूपमा बाँच्न बाध्य मानिसहरूका लागि पनि हामीले सोच्नुपर्छ। उनीहरूलाई कि स्वदेश फिर्ता पठाउने पहल गरियोस्, होइन भने परिवार मिलनका लागि अन्य राष्ट्र पठाउने व्यवस्था मिलाइयोस्,” उनले भने।

रक्षा मन्त्रालयअन्तर्गतको छलफलमा विभागीय मन्त्री अनुपस्थित भएको र मन्त्रालयको बजेट पुस्तिका (रेड बुक) समेत उपलब्ध नगराइएको भन्दै उनले आपत्ति जनाए।

रक्षा मन्त्रालयको खर्च विवरण समावेश भएको पुस्तक सांसदहरूलाई किन वितरण गरिएन ? भन्दै उनले सभामुखमार्फत सरकारसँग जवाफ माग गरे।