निरन्तर वर्षासँगै गएको पहिरो र सडक किनारका रुख ढलेपछि मेची राजमार्गअन्तर्गत इलामका विभिन्न स्थानमा यातायात सेवा प्रभावित भएको छ। दुई फरक स्थानमा पहिरो खस्दा राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको हो।
आइतबार बिहान रोङ गाउँपालिका–४ स्थित डुमी चोकमा सडक माथिबाट डिस्को र सखुवा प्रजातिका ठूला रुख ढलेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। बिहान करिब ५ः३० बजेतिर भएको घटनापछि पूर्व–पश्चिम आवतजावत गर्ने सवारी साधन रोकिएका छन्।
घटनालगत्तै प्रहरी चौकी किटेनीबाट सुरक्षाकर्मी खटिएका छन्। अवरुद्ध सडक खुलाउन स्थानीय तह, सडक कार्यालय तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। वर्षाका कारण भिरालो भाग कमजोर बन्दै जाँदा थप जोखिमसमेत कायम रहेको बताइएको छ।
यसअघि शनिबार राति इलाम नगरपालिका–९ को राजदुवाली क्षेत्रमा लेदोसहितको पहिरो खस्दा मेची राजमार्गको अर्को खण्ड पनि पूर्ण रूपमा बन्द भएको थियो। राति ११ः४० बजेतिर खसेको पहिरोले सडक पुरिएपछि सवारी सञ्चालन ठप्प बनेको हो।
प्रहरी चौकी गोलाखर्कबाट खटिएको टोलीले घटनास्थलको निगरानी गरिरहेको छ। सडक मर्मत तथा पहिरो पन्छाउने कामका लागि स्थानीय निकायसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक मौसम उदासले जानकारी दिए।
लगातारको वर्षाले इलामका पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ। विशेषगरी मेची राजमार्गका भिराला र कमजोर भूभागमा सवारी सञ्चालन गर्दा सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ। मौसममा तत्काल सुधार नआए थप पहिरो खस्ने सम्भावना रहेकाले अत्यावश्यक बाहेक लामो दूरीको यात्रा नगर्न पनि सुझाव दिइएको छ।
मेची राजमार्ग पूर्वी पहाडलाई तराईसँग जोड्ने प्रमुख सडक सञ्जाल भएकाले यसको अवरोधले यात्रु मात्र होइन, दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत असर पर्ने देखिएको छ। सम्बन्धित निकायले सकेसम्म छिटो सडक खुलाउने प्रयास भइरहेको जनाएका छन्।




















