गृहमन्त्री सुदन गुरुङले बारा र पर्साको सीमावर्ती क्षेत्रमा सुरक्षा निकायलाई समेत पूर्वजानकारी नदिई ‘छड्के अनुगमन’ गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन सकेर शनिबार बिहान वीरगन्ज आइपुगेका गृहमन्त्री गुरुङले सुरक्षा टोली र आफ्नो औपचारिक संयन्त्रलाई बाहिरै राखेर सुटुक्क स्थलगत निरीक्षण गरेका हुन्।
सामान्य पोसाकमा मास्क, टोपी र हाफ टिसर्ट लगाएर कसैले नचिन्नेगरी सीमा क्षेत्रमा पुगेका मन्त्री गुरुङले जानकी टोला, मटिअर्वा र अलौँलगायतका नाकाहरूको अवलोकन गरेका थिए।
अनुगमनका क्रममा उनले नाका क्षेत्रका स्थानीय बासिन्दा तथा ज्येष्ठ नागरिकहरूसँग सीमापार भइरहेको तस्करी र सुरक्षा व्यवस्थाका विषयमा सोधपुछ तथा अन्तरक्रियासमेत गरेका छन्।
शनिबार गृहमन्त्रीले गरेको छड्के अनुगमनको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। सार्वजनिक भिडियोमा गृहमन्त्री गुरुङसँग कुरा गर्दै स्थानीयवासीले सशस्त्र प्रहरीकै अधिकारीको मिलेमतोमा तस्करी भइरहेको दाबी गरेका छन्।
यद्यपि, गृहमन्त्रीले संवाद गरेको सो भिडियो ठ्याक्कै कुन नाकाको हो भन्ने विषय भने भिडियोमा प्रस्ट पारिएको छैन। गृहमन्त्रीको यस आकस्मिक तथा गोप्य भ्रमणबारे स्वयं उनको सचिवालयले कुनै जानकारी सार्वजनिक गरेको थिएन।
यता सीमा क्षेत्रको सुरक्षा र प्रशासनिक जिम्मेवारी सम्हालेका बारा र पर्साका प्रहरी प्रशासन तथा स्थानीय प्रशासनसमेत मन्त्रीको यस भ्रमणबारे पूर्णरूपमा अनभिज्ञ रहेका छन्।
स्रोतका अनुसार चितवनको माडी हुँदै ठोरी प्रवेश गरेर पर्सा र बाराका नाकाहरूको वस्तुस्थिति प्रत्यक्ष रूपमा बुझेपछि गृहमन्त्री गुरुङ शनिबार नै काठमाडौँ फर्किसकेका छन्।




















