मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२ बाट लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ। मदन भण्डारी फाउन्डेसनले उनको अनुसन्धानमूलक कृति ‘श्वेतशार्दुल’ लाई पुरस्कारका लागि छनौट गरेको थियो।

मदन भण्डारीको ७५औँ जन्म जयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभागृहमा आयोजना भएका विशेष समारोहका बिच राईलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पुरस्कार प्रदान गरिन्।

पुरस्कारको राशि दुई लाख रुपैयाँ र सम्मान पत्र रहेको छ। इलामको सूर्योदय नगरपालिका–११, केराबारीका स्थायी बासिन्दा राईले राजनीति, विकास तथा समसामयिक विषयमा कलम चलाउँदै आएका छन्। फाउन्डेसनले जननेता मदन भण्डारीको जन्म जयन्तीको अवसरमा अध्ययन, अनुसन्धान, संस्मरण लेखन तथा प्रकाशनमार्फत उनको व्यक्तित्व, विचार, राजनीतिक जीवन र योगदानलाई दस्तावेजीकरण तथा प्रचारप्रसारमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई पुरस्कृत गर्दै आएको छ। 

मदन भण्डारी राष्ट्रिय पुरस्कार २०८२ बाट पुरस्कृत राईले करिब १० वर्ष लगाएर कृति ‘श्वेतशार्दुल’ तयार पारेको बताए। साथै, उनले आफ्नो कृतिमार्फत मदन चिनाउने प्रयास भएको बताए।