नेपालको प्रजातान्त्रिक आन्दोलनमा त्यागको सङ्घर्षले चिनिएका पुर्वप्रधानमन्त्री मनमोहन अधिकारीको आदर्शले लोकतन्त्र अझै बलियो बनाउने भन्दै विश्वविद्यालयमा उनको सम्झना गरिएको छ।
पुर्वप्रधानमन्त्री तथा नेपालको प्रजातान्त्रिक आन्दोलनका त्यागपूर्ण सङ्घर्षको इतिहास बोकेका स्वर्गीय नेता मनमोहन अधिकारीको आदर्शले नेपालको लोकतान्त्रिक आन्दोलनलाई अझै बलियो बनाउने भन्दै मनमोहन प्राविधिक विश्वविद्यालयले उनको आदर्शलाई सम्झना गरेको हो।
सोमवार मोरङको बुढीगंगा गाउँपालिका-४ हात्तीमुढास्थित मनमोहन प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पुर्वप्रधानमन्त्री तथा आदर्श नेता स्वर्गीय मनमोहन अधिकारीको १०६ औ जन्म जयन्तीको अवसरमा समाजसेवी, सांसद, राजनैतिज्ञ, पदाधिकारी कर्मचारी र विद्यार्थीहरूले उनको योगदानको सम्मान गर्दै आदर्शको सम्झना गरेका हुन। विश्वविद्यालयका संरक्षण समिति सदस्य तथा पूर्व सहकुलपति जीवन घिमिरेले देशमा लोकतन्त्रको उदय गराएर असल शिक्षा र संस्कार सहित संवृद्धितर्फ लैजानमा पुर्वप्रधानमन्त्री मनमोहन अधिकारीको उल्लेखनीय योगदान रहेको बताए। उनले स्वर्गीय नेता मनमोहनको त्यागपूर्ण सङ्घर्ष नभएको भए मनमोहन प्राविधिक विश्वविद्यालयको स्थापना असम्भव हुने थियो भने। कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री समेत रहेका घिमिरेले भने,‘मनमोहनकै त्याग र आदर्शले गर्दा मनमोहन शिक्षालयबाट आज प्रदेशले कानुन बनाएर देशकै पहिलो विश्वविद्यालय स्थापना गराउन सफल भएको हो।’
कोशी प्रदेशका सांसद लिलाबल्लभ अधिकारीले पुर्वप्रधानमन्त्री मनमोहन अधिकारी कुनै एउटा पार्टीको नभएर देशका सबै नागरिकहरूका लागि अनुशासन र आदर्शको प्रेरणा भएकोले उनको आदर्श सबैले अनुकरण गर्नुपर्नेमा जोड दिए।
पूर्वाञ्चल विश्वविद्यालयका सिनेट सदस्य विनोद ढकालले मनमोहन प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता रहेको र उनीहरूकै त्यागको जगले आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त हुन सकेको हो भने। राजनीतिज्ञ महेश रेग्मीले स्वर्गीय मनमोहन अधिकारी आफ्नो त्यागपूर्ण आदर्शको कर्मले चिनिएको नेपाली राजनीतिका असल अगुवा हुन भन्दै सामाजिक न्याय र शिक्षा क्षेत्रमा आफ्नो नेतृत्वमा उल्लेख्य काम गर्न मनमोहन सफल भएको दाबी गरे।
१०६ औ जन्म जयन्तीको अवसरमा संरक्षण समिति सदस्यहरू सत्यनारायण चौधरी, राजन केसी, मुकेश उपाध्यायसहित विश्वविद्यालयका उपकुलपति डा. सुवास श्री पोखरेल, रजिष्ट्रार डा. किशोर अधिकारी, डिन डा रेखा श्रेष्ठ लगायतले स्वर्गीय मनमोहन अधिकारीको प्रतिमामा माल्यार्पण गरेका थिए।
सोही अवसरमा विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेन्किका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।




















