कोशी प्रदेशमा सवारी दुर्घटनाको प्रमुख कारण चालकको लापरबाही, तीव्र गति र ट्राफिक नियम उल्लङ्घन रहेको तथ्यांकले देखाएको छ।

चालु आर्थिक वर्ष २०८२र८३ को असार १५ गतेसम्मको विवरणअनुसार प्रदेशभर ६ हजार १ सय ५० वटा सवारी दुर्घटना हुँदा ४ सय २१ जनाले ज्यान गुमाएका छन् भने ७ सय ३५ जना गम्भीर र ९ हजार ५ सय २९ जना सामान्य घाइते भएका छन्।

कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार चालकको लापरवाहीका कारण मात्रै १ हजार ७ सय १५ दुर्घटना भएका छन्। त्यस्तै, तीव्र गतिका कारण २ हजार ६ सय ६७, यात्रुको गल्तीका कारण ५ सय ४६, मादक पदार्थ सेवन (मापसे) का कारण ४ सय २५ र सवारी साधनको यान्त्रिक गडबडीका कारण २ सय ६६ दुर्घटना भएका छन्। यसबाहेक सडकको अवस्थाका कारण २ सय ८१, ओभरटेकका कारण १ सय ४९, चौपायाका कारण ४९, ओभरलोडका कारण १७ र प्रतिकूल मौसमका कारण ३५ दुर्घटना भएको तथ्यांकमा उल्लेख छ। तथ्यांकले दुर्घटनाको प्रमुख जिम्मेवार मानवीय त्रुटि नै रहेको पुष्टि गरेको छ।

चालकको असावधानी, गति नियन्त्रणमा बेवास्ता तथा ट्राफिक नियमको पालना नगर्दा अधिकांश दुर्घटना भएको देखिएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए।

दुर्घटनाको केन्द्र भने प्रदेशका तीन मुख्य जिल्ला बनेका छन्। मोरङमा सबैभन्दा बढी २ हजार १ सय ४३, झापामा १ हजार ४ सय ५३ र सुनसरीमा १ हजार ३ सय ९८ दुर्घटना भएका छन्। यी तीन जिल्लामा मात्रै प्रदेशका करिब ८० प्रतिशत दुर्घटना केन्द्रित छन्। मानवीय क्षतिको हिसाबले पनि मोरङमा १ सय ११, सुनसरीमा १ सय १४ र झापामा ७३ जनाले ज्यान गुमाएका छन्।

ट्राफिक प्रहरी उपरीक्षक गिरीका अनुसार पूर्व–पश्चिम राजमार्ग, कोशी लोकमार्ग तथा सहरी सडकमा बढ्दो सवारी चाप, तीव्र सहरीकरण, तीव्र गतिमा सवारी सञ्चालन, सडक अनुशासनको कमी र चालकको लापरवाहीले दुर्घटनाको जोखिम झन् बढाइरहेको छ। विशेषगरी धेरै सवारी आवागमन हुने मोरङ, सुनसरी र झापामा दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी ट्राफिक व्यवस्थापन र नियम कार्यान्वयन अपरिहार्य देखिएको छ। त्यसका लागि विभिन्न निकायहरूसँग समन्वय गरेर काम गरिरहे पनि त्यो पर्याप्त नभएको गिरीले बताए।

तथ्यांकले सडक विस्तार र सवारी साधनको संख्या बढेसँगै चालकको व्यवहारमा सुधार, ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन, नियमित सवारी परीक्षण तथा सडक सुरक्षा पूर्वाधार सुदृढीकरण नगरे दुर्घटनाको दर अझै बढ्न सक्ने संकेत गरेको छ।

ट्राफिक प्रहरीले चालकलाई गति नियन्त्रणमा राख्न, मापसे गरेर सवारी नचलाउन, ट्राफिक नियमको पूर्ण पालना गर्न र सवारी साधनको नियमित प्राविधिक परीक्षण गर्न आग्रह गर्दै दुर्घटना न्यूनीकरणका लागि जनचेतना र कडा निगरानीलाई थप प्रभावकारी बनाइने जनाएको छ। तर दुर्घटना न्यूनीकरणको काम ट्राफिक प्रहरीको मात्र हो भन्ने मानसिकताका कारण यो चुनौतीपूर्ण रहेको गिरीको भनाइ छ।