परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय हेलिकप्टर नेपाली भूभागमा नियोजित रूपमा नभई प्रतिकूल मौसमका कारण प्रवेश गर्नु परेको स्पष्टीकरण दिएका छन्।
बुधबार संघीय संसद् राष्ट्रिय सभा बैठकमा सांसदहरूले राखेका मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो स्पष्ट पारेका हुन्।
मन्त्री खनालले मौसम खराब भएपछि भारतीय हेलिकप्टर नेपालको दार्चुला जिल्लामा प्रवेश गर्न पुगेको र उक्त घटनामा भारतीय पक्षको कुनै नियोजित एवं गलत मनसाय नदेखिएको बताए। उनले भने, ‘दार्चुला जिल्लामा भारतीय हेलिकप्टर नियोजित एवं गलत मनसायले नेपालको भूभाग प्रवेश गरेको नदेखिएको र त्यस क्षेत्रको भौगोलिक अवस्थिति र मौसमको कारणले नेपाली भूभाग प्रवेश गरेको विषयमा नेपाली सम्बन्धित अधिकारीहरू र भारतीय पक्षबिच आवश्यक सम्पर्क र समन्वय भइरहेको छ।’
यसैगरी, मन्त्री खनालले नेपालको सुपारी निर्यातमा देखिएको समस्या समाधान गर्न पनि सरकारले पहल गरिरहेको जानकारी दिए। उनले आफूले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सफल भएको दाबी समेत सदनमा गरे। सरकारले भारतसँगको निर्यात व्यापारमा देखिएका समस्या समाधानका लागि निरन्तर कूटनीतिक पहल गरिरहेको उनको भनाइ छ।
नेपाली चियाको भारत निर्यात सहज भएको विषयमा जानकारी दिँदै उनले भने, ‘सुपारी निर्यातमा देखिएको समस्या समाधानका लागि पहल भइरहेको छ। नेपाली चियाको भारत निर्यातमा देखिएको समस्या र समाधान गर्न सरकारले निरन्तर पहल गरिरहेको सम्मानित सदनलाई अवगत नै छ। यसै सिलसिलामा भारतको विदेश मन्त्रालय, वाणिज्य तथा उद्योग मन्त्रालय, खाद्य सुरक्षा र भारतीय चिया बोर्डका उच्च अधिकारीहरूसँग परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली राजदूतावास संवादमा रही कूटनीतिक प्रयासलाई निरन्तरता दिइरहेको छ। गत जेठमा मेरो भारत भ्रमणको क्रममा उच्चस्तरीय तहमा छलफल पनि भएको थियो। परिणामस्वरुप हाल यस समस्याको समाधान भई नेपाली चियाको भारत निर्यात सहज भएको कुरा जानकारी गराउन चाहन्छु। केही दिन अगाडि भारतले आफ्नो नीतिमा केही परिमार्जन गरेर हाम्रो निर्यातमा सहजीकरण भएको छ।’




















