वैदेशिक रोजगारीका सिलसिलामा आफन्त गुमाएका खोटाङका एक परिवारले २३ लाख पाएका छन्। दक्षिण कोरियामा ज्यान गुमाएका खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीका धर्मराज तामाङको परिवारले आर्थिक सहायता तथा विमावापत २३ लाख पाएका हुन्।
मृतक परिवारले वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायतावापत १० लाख र बीमावापत १३ लाख पाएको खोटेहाङ गाउँपालिका अन्तरगत आप्रवासी स्रोत उपकेन्द्रका पराशर्मकर्ता युवराज कालिकोटेले बताए।
वैदेशिक रोजगारीका क्रममा २०८० मंसिर २६ गते दक्षिण कोरिया गएका तामाङको २०८२ मंसिर २२ गते मृत्यु भएको थियो। तामाङ झुण्डिएको अवस्थामा मृत फेला परेको आफन्तको भनाइ छ।
आर्थिक सहायता तथा बीमावापतको रकम दिलाइदिनका लागि मृतक परिवारले २०८२ पुस २४ गते आप्रवासी स्रोत उपकेन्द्रमा निवेदन दिएका थिए। निवेदनको आधारमा आप्रवासी श्रोत उपकेन्द्रले आवश्यक कागजात तयार पारेर सोही दिन आर्थिक सहायता तथा बीमाको रकम प्राप्तीकालागि वैदेशिक रोजगार बोर्डमा सिफारिस गरेको थियो। असार १६ गते मृतक परिवारको खातामा आर्थिक सहायता तथा बीमावापतको रकम जम्मा भएको परामर्शकर्ता कालिकोटेले बताए।
मृतक धर्मराजका श्रीमती र एक छोरा छन्। छोरालाई छात्रवृत्तिका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने तयारी गरिएको छ। वैदेशिक रोजगारीका सिलसिलामा ज्यान गुमाएका तीन जनाको ६ जना बालबच्चालाई छात्रबृत्तिका लागि चालु आर्थिक वर्ष सिफारिस गरिसकिएको खोटेहाङ गाउँपालिका अध्यक्ष उदिमबहादुर राई (मुक्ती)ले बताए।
विदेशमा अभिभावक गुमाएका ४ वर्षदेखि १७ वर्ष उमेरका बालबच्चाले सरकारबाट छात्रबृत्ति पाउने व्यवस्था छ। कक्षा १ देखि कक्षा ८ सम्म अध्ययन गरिरहेका बालबच्चाले वार्षिक १२ हजार र कक्षा ८ देखि कक्षा १२ मा अध्ययन गरिरहेका बालबच्चाले वार्षिक रुपमा १६ हजार पाइरहेका छन्।




















