भेनेजुएलामा दुईवटा शक्तिशाली भूकम्पका कारण भत्किएको भवनको भग्नावशेषमा आठ दिनदेखि फसेका एक पुरुषको सकुशल उद्धार गरिएको छ।

उद्धार गरिएका व्यक्ति हर्नान गिल हुन्। उद्धारकर्मीहरूले १४० टन भग्नावशेषमुनि उनी रहेको पत्ता लगाएको १०० घण्टाभन्दा बढी समयपछि उनलाई सुरक्षित रूपमा बाहिर निकालेका हुन्।

भेनेजुएलामा भूकम्पमा परी बिहीबार साँझसम्म २,५९५ जनाको मृत्यु पुष्टि भएको छ भने अझै पनि हजारौँ मानिस बेपत्ता रहेका छन्।

गिल पार्किङ क्षेत्रको बेसमेन्टमा रहेको सानो कंक्रिटको सुरक्षा कक्षमा ड्युटीमा रहेका बेला भूकम्प आएको थियो। उद्धारकर्मीहरूका अनुसार उक्त सुरक्षा कक्षले सुरक्षाको काम गरेकाले उनीमाथि खसेको करिब १४० टन भग्नावशेषबाट जोगिन सफल भएका हुन्।

भग्नावशेषभित्रबाट आएको गिलको सानो आवाज सुनेपछि उद्धार अभियान तीव्र बनाइएको थियो। त्यसपछि भेनेजुएला, चिली, कोस्टारिका, एल साल्भाडोर, मेक्सिको, पोर्चुगल र संयुक्त राज्य अमेरिकाका उद्धार टोलीले संयुक्त रूपमा उद्धार अभियान सञ्चालन गरेका थिए।

उद्धारका क्रममा गिललाई पानी र सलाइन उपलब्ध गराइएको थियो। उनीसम्म पुग्न बनाइएका पहुँच मार्ग पटक–पटक भत्किँदा उद्धार अभियान थप जटिल बनेको थियो। रातभरको प्रयासपछि उद्धार टोलीले उनीसँग प्रत्यक्ष सम्पर्क स्थापित गरेको थियो।

उद्धारअघि खिचिएको भिडियोमा गिलले अनुहारमा मास्क लगाएको र आँखाको सुरक्षाका लागि चस्मा प्रयोग गरेको देखिएको थियो। उद्धारकर्मीहरूले धुलो र भग्नावशेषबाट जोगाउन उनलाई ती सामग्री उपलब्ध गराएका थिए।

गिलको स्वास्थ्य अवस्था सामान्य रहेको र उद्धार अवधिभर उनी उद्धार टोलीसँग निरन्तर संवादमा रहेको बताएका छन्।