पूर्वाधारमन्त्री सुनिल लम्सालले काम नगर्ने प्रदेश मन्त्रीलाई थुन्ने र मेयरलाई कारबाही गर्ने चेतावनी दिएका छन्। आइतबार तनहुँको शुक्लागण्डकीमा स्थानीयहरूसँग कुरा गर्दै उनले काम नगर्ने प्रदेशका मन्त्रीलाई पनि थुन्ने चेतावनी दिएका हुन्।
‘यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई जानकारी दिनुहोस्। आवश्यक कारबाही गर्छौं। प्रदेशका मन्त्रीले पनि त्यस्तै गर्नुभयो भने थुन्छौं हामी’, उनले जसरी पनि काम गर्नु र हुनुपर्ने बताए।
यसअघि उनले काम नगर्ने ठेकेदाहरूको खुट्टा भाँच्ने अभिव्यक्ति दिएका थिए। यो अभिव्यक्तिका कारण उनको निकै आलोचना भएको थियो। अहिले फेरि उनले प्रदेशका मन्त्री नै थुन्ने चेतावनी दिएका हुन्। उनले यस्तो चेतावनी दिएको भिडियो क्लिप अहिले सोसल मिडियामा छ्यापछ्याप्ती छ।
तनहुँको शुक्लागण्डकी नगरपालिका-५, दुलेगौँडामा आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रम थियो। त्यहाँ उनले जनताको पक्षमा इमानदारपूर्वक काम गर्न सबै जनप्रतिनिधि र पदाधिकारी जिम्मेवार हुनुपर्ने उल्लेख गरेका थिए।
उनले जनतालाई दुःख दिने, सेवा प्रवाहमा बेवास्ता गर्ने वा आफ्नो जिम्मेवारी पूरा नगर्ने विषयमा जानकारी भए सम्बन्धित निकायमा सूचना दिन आग्रह पनि गरे। ‘यदि कुनै स्थानीय तहका प्रमुख वा जिम्मेवार पदाधिकारीले जनताको काम नगरेको, नागरिकलाई अपहेलना गरेको वा दुःख दिएको पाइएमा हामीलाई जानकारी दिनुहोस्। त्यस्ता गैरजिम्मेवार पदाधिकारीमाथि कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ’, उनले भने।




















