ललितपुरमा बाटोमा हिँडिरहेकी युवतीलाई अश्लिल हर्कत गर्ने शिक्षा अधिकृतविरुद्ध ५ दिन म्याद थप भएको छ।
शिक्षा अधिकृत सुरेन्द्र भट्टविरुद्ध ५ दिनको म्याद थप भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताए। उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय ललितपुरबाट सार्वजनिक स्थलमा अश्लिलता प्रदर्शन गर्न नहुने कसुरमा म्याद थप भएको हो।
रक्षा मन्त्रालयमा कार्यरत ५५ वर्षीय शिक्षा अधिकृत भट्टलाई सोमबार प्रहरीले पक्राउ गरेको थियो।
ललितपुरको इमाडोलमा बाटोमा हिँड्दै गरेकी एक युवतीलाई उनले अश्लील हर्कत गरेका थिए। सरकारी कर्मचारी भट्टले एक्लै बाटो हिँड्दै गरेकी युवतीलाई गोप्य अंग देखाउँदै अश्लील हर्कत गरेका थिए। आइतबार साँझ साढे ६ बजेतिर पीडित युवतीले ती पुरुषको भिडियो सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेकी थिइन्।
त्यसपछि खोजी सुरु गरेको प्रहरीले उनलाई पक्राउ गरेको थियो। आफूमाथि अशिलल हर्कत गरेपछि ती पुरुषलाई फलो गर्दै युवतीले भिडियो खिचेकी थिइन्। त्यसपछि उक्त भिडियो सार्वजनिक गर्दै पक्राउ गर्न आग्रह गरेकी थिइन्।




















