सुनसरीको कोसी गाउँपालिका–८, केराबारीस्थित महेन्द्र राजमार्गमा बुधबार राति सवारीसाधन (पिकअप) दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। 

सवारीसाधनका चालक मोरङको रंगेली नगरपालिका–३, दर्वेशाका ४२ वर्षीय पदम राईको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।

भन्टाबारीबाट लौकहीतर्फ आउँदै गरेको प्र १–०२–००२ च ४८३१ नम्बरको खाली पिकअप अनियन्त्रित भई उक्त सडकमा दुर्घटना भएको थियो। दुर्घटनामा चालक राई गम्भीर घाइते भएका थिए। उपचारका निम्ति उनलाई जिल्ला अस्पताल इनरुवा ल्याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रनाउ खड्काले जानकारी दिए।

सोही दुर्घटनामा परी पिकअपमा सवार सिरहाको लहान नगरपालिका घर भई मोरङको विराटनगर महानगरपालिका–१३ मा बस्दै आएका ३७ वर्षीय सन्तोषकुमार साह घाइते भएका छन्। उनको अवस्था समान्य रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।