नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीको निधन कुनै राजनीतिक बहस वा दोषारोपणको विषय मात्रै नभएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यसलाई एक नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय रहेको बताएका छन्।
यो घटना समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण रहेको सभापति थापाको भनाइ छ।
‘यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन। यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय हो,’ सभापति थापाले भनेका छन्।
मृतक नेपालीको आश्रित परिवारलाई कसरी साथ दिन सकिन्छ, कसरी उनीहरूको दुस्खमा केही भए पनि मल्हम लगाउन सकिन्छ भन्नेबारे आ–आफ्नो ठाउँबाट सोचौँ र सक्दो सहयोग गर्न पनि उनले आग्रह गरेका छन्।
‘विगत र वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको हाम्रो सामूहिक आत्मचिन्तनको विषय बनाऔँ,’ सभापति थापाले भनेका छन्।
एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छ ? र आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ ? भन्ने लगायतका प्रश्न सोधेका छन्।
‘हामीले आफैँसँग केही कठिन प्रश्न सोध्नैपर्छ। एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छ ? आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ ?,’ उनले भने, ‘राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने हो, तर किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन् ? समाज, परिवार, राज्य र हामी नागरिकका रूपमा कहाँ चुक्यौं ?’
यी प्रश्नहरूको इमानदार उत्तर खोज्नु र भविष्यमा कुनै पनि नागरिकले यस्तो बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने सभापति थापाको भनाइ छ।




















