रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि २५ जना प्रहरी कर्मचारी हालसम्म सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
नेपाल प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा सात हजार २९३ जना प्रहरी परिचालन गरिएको छ। उनीहरूले उद्धार, राहत तथा प्रभावित नागरिकको सुरक्षाका लागि विभिन्न स्थानमा खटिएर काम गरिरहेका छन्।
बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ७३५ वटा शव फेला परेका छन्। फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, चितवनमा २५९, गोरखामा ५८, तनहुँमा ३७, नवलपरासी पूर्वमा १८४ र नवलपरासी पश्चिममा ८२ वटा रहेका छन्।
त्यस्तै, बाढीमा परेका २ हजार ७१५जना घाइतेहरुको उद्धार गरिएको छ। जिल्लागत विवरणअनुसार रसुवामा ६९२, नुवाकोटमा २ हजार २०, धादिङमा तीन जना रहेका छन्। काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेको संख्या १६० रहेको प्रहरीले जनाएको छ।
बाढीपछि हराइरहेका तथा सम्पर्कविहीन व्यक्तिको खोजी र उद्धारलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा परिचालित सुरक्षा टोलीले उद्धारसँगै बेपत्ताको खोजी र पीडितको व्यवस्थापनमा समेत काम गरिरहेको छ।












