नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीमा एकल प्रयासबाट सरकारले सफलता नपाउने बताएका छन्।
आइतबार महासचिव शंकर पोखरेलले स्थलगत अनुगमनपछि प्रतिवेदन बुझाउन आयोजित कार्यक्रममा ओलीले राज्य र जनता मिलेर नै समस्या समाधानतर्फ लाग्नुपर्ने बताए।
“राज्य र जनता मिलेर यो साझा समस्याको समाधान गर्नेतर्फ प्रयासरत नहुने हो भने श्रेय लिन खोज्नेहरू नै डुब्ने कुरा हो। यो श्रेय पाउने सम्भावना छैन,” उनले भने, “एकल प्रयासबाट, रहरले सफलता पाउने विषय होइन।”
ओलीले रसुवा बाढीलाई राष्ट्रिय समस्याको रूपमा लिनुपर्ने बताए। सरकारलाई आफ्नो दृष्ट्रिकोण सुधार्न आग्रह गरे।
“अझै पनि सरकारले आफ्नो दृष्टिकोण सपारोस्, भूमिका सपारोस्। राजनीतिक विषय नबनाओस्। राष्ट्रिय समस्याका रूपमा बुझोस्। साझा समाधान गर्नुपर्छ भन्ने बुझोस्,” उनले भने।
ओलीले वाग्मती प्रदेशमा नै भएकाले त्यसको मर्म बुझ्न गाह्रो नभएको बताए। “यसको गहिराइ, मर्म बुझ्न सजिलो छ। केन्द्र, प्रदेश, स्थानीय सरकार मिलेर। राजनीतिक दल, अन्य संस्था मिलेर यसको सामना गर्नुपर्छ,” ओलीले भने।
उनले दलहरूले राजनीतिक विषय नबनाऔँ भने पनि त्यस्तो हुन नसकेको बताए। रेस्क्युमा दक्षता हासिल गरेका संस्थाहरूलाई खोजी कार्य गर्न, हेलिकोप्टर भाडामा प्रयोग गर्न नदिइएको दाबी गरे।
आफ्नै प्रयासमा रेस्क्यु, पुनर्निर्माणको काम पनि सँगै लगेको भन्दै वाग्मती सरकारलाई धन्यवाद दिए।
“सरकारले त केही पनि गरेन। सर्वदलीय बैठक पनि गरेन। रास्वपाले गर्यो भन्ने सञ्चारमाध्यमबाट सुनेँ। रुलिङ पार्टी भएकाले गर्नुपथ्र्यो। वाग्मती सरकारले सर्वदलीय बैठक गर्यो,” ओलीले भने।












