रसुवामा आएको बाढीपछि बेपत्ता भएकाहरूको खोजीका लागि चितवनमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ।

मध्य पृतनाको नेतृत्वमा गठित टास्क फोर्सअन्तर्गत नेपाली सेनाको विभिन्न युनिटले आफ्नो जिम्मेवारीअनुसार क्षेत्र विभाजन गरी नारायणी नदी तथा आसपासका क्षेत्रमा खोजी गरिरहेका छन्।

नयाँ गोरख गण र नयाँ सबुज गणले सामूहिक रूपमा खोज तथा उद्धार कार्य सञ्चालन गरिरहेका छन्। नेपाली सेनाका अनुसार नयाँ गोरख गण, नयाँ सबुज गण र सिंहनाथ गणको कमान्डो तालिमप्राप्त टोलीले नारायणी नदीमा जोखिमपूर्ण तथा कठिन क्षेत्रमा समेत खोजी गरिरहेको छ। 

सोमबार बिहान ५ बजेदेखि निरन्तर सञ्चालन गरिएको खोजीको क्रममा नगर वन टापु क्षेत्रबाट १० वटा शव फेला परेको छ। यस्तै, थप दुई शवका अवशेषसमेत फेला परेको सेनाले जनाएको छ। सेनाले बेपत्ताको खोजी कार्य तत्काल नरोकिने र निरन्तर जारी रहने जनाएको छ।