नेपाली कांग्रेस देउवा पक्षले आगामी मंसिर २१, २२ र २३ गते हुने १५ औँ केन्द्रीय महाधिवेशन तयारीलाई तिब्रता दिएको छ। यसक्रममा अहिले जिल्ला र प्रदेश अधिवेशनहरू गरिरहेको छ।

उक्त पक्षले शुक्रबार विभिन्न पाँच वटा उपसमितिका संयोजकहरू मनोनयन गरेको छ।

महाधिवेशन मूल तयारी समितिका संयोजक डा.शशांक कोइरालाले मंसिर ९ गते बसेको तयारी समितिको बैठकको निर्णयअनुसार विभिन्न समितिका संयोजकहरूको जिम्मेवारी तोकेका हुन्।

सो पार्टीको सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइकेलद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिअनुसार प्रचार प्रसार समितिको संयोजकमा पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता डा.प्रकाश शरण महतलाई मनोनयन गरिएको छ।

यसैगरी, अतिथि सत्कार एवं समन्वय समितिको संयोजकमा केन्द्रीय सदस्य एनपी साउद र प्रशासन समन्वय एवं स्वयंसेवक परिचालन समितिको संयोजकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत मनोनीत भएका छन्।

यस्तै, सांस्कृतिक समितिको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य विद्या तिमिल्सिनालाई दिइएको छ भने स्वास्थ्य समितिको संयोजकमा डा.अमित कार्की मनोनीत भएको विज्ञप्तिमा उल्लेख छ।