नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

म्यानमार फुटबल संघले सामाजिक सञ्जालकोमाध्यमबाट नेपालसँग सेप्टेम्बरमा दुई मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो ।नेपाल र म्यानमारबीचको पहिलो खेल सेप्टेम्बर ८ र दोस्रो खेल सेप्टेम्बर ११ मा हुनेछ । दुवै खेल थुवुन्ना स्टेडियममा हुनेछ ।

अक्टोबरमा हुने फिफा विश्वकप छनोटको तयारीका लागि दुवै टोलीले मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

फिफा वरीयतामा  म्यानमार १६०औं स्थानमा छ भने नेपाल १७५औं स्थानमा रहेको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश शाहले म्यानमारसँग दुई खेल खेल्ने निर्णय भएको जानकारी दिए ।

नेपालले विश्वकप छनोटको प्रारम्भिक छनोट खेल लाओससँग खेल्नेछ ।