कोसी प्रदेशमा आँखा पाक्ने रोग प्रकोपका रूपमा फैलिएर संक्रमण तीव्र भइरहँदा पनि प्रदेश सरकार बेखबरजस्तै देखिएको छ। सुरुमा बालबालिकामार्फत फैलिएको सरुवा रोगको संक्रमणबाट अहिले सबै उमेर समूह प्रभावित बनिरहेका छन्। 

चिकित्सकका अनुसार ‘एडिनो’ भाइरसका कारण निम्तिएको संक्रमण विद्यालय, आँखा अस्पताललगायत भीडभाड धेरै हुने सार्वजनिक स्थलबाट समुदायस्तरमै फैलिइरहेको छ। कतिपय स्थानका विद्यालयहरू बन्द गरिएको छ।  संक्रमण रोकथामका लागि प्रदेश सरकारले भने सामान्य जनचेतनामूलक कार्यक्रम पनि गरेको छैन। संक्रमण अनियन्त्रित रूपमा फैलिरहँदा पनि सरकार मौन छ। मानव शरीरको महत्वपूर्ण अंगमध्येको आँखा जोगाउन अपनाउनुपर्ने सावधानीलगायतका विषयमा जनचेतनामूलक कार्यक्रम गरिएको छैन। सतर्कता अपनाइएको छैन। 

प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा। रवीन्द्र अधिकारी आँखा पाक्ने बिरामीको संख्या बढ्दै गएको बताउँछन्। तर, यसको रोकथाम र नियन्त्रणका लागि केही गर्न नसकिएको उनको भनाइ छ। प्रदेश सरकारसँग संक्रमितको विवरणसमेत छैन। तथ्यांक संकलन नहुँदा प्रदेशभित्र कति जनाको आँखा पाकिसक्यो र बिरामीको अवस्था कस्तो छ भन्नेसम्मको जानकारी सरकारसँग छैन। 

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेत प्रकोपको ‘रिपोर्टिङ’ सबैतिर भइरहेको बताउँछन्। ‘जनघनत्व धेरै भएको र जमघट तथा भेटघाट बढी हुने स्थानबाट तीव्र गतिमा संक्रमण फैलिइरहेको छ,’ उनले भने, ‘सबैलाई सुरक्षित बनाउन प्रचार–प्रसार गर्दै सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ।’ संक्रमण पहिलेभन्दा अलि नियन्त्रण हुँदै गएको बस्नेतले बताए।