त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने वस्तुसहित एक जना भारतीय महिला पक्राउ परेका छन्।
सुन जस्तो देखिने पहेँलो रङको वस्तुले लेपन गरिएको करिब ७ सय ग्राम र शङ्कास्पद धुलो रहेको कफीको ३ वटा प्याकेटमा रहेको ७ सय ४० ग्राम गरी जम्मा १ किलो ४ सय ४० ग्रामसहित भारतीय नागरिक ३७ वर्षीया तशलिम सुलताना बुस्रा शनिबार दिउँसो पक्राउ परेकी हुन्।
नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौँ आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा चेकजाँच गर्ने क्रममा उक्त वस्तुसहित फेला पारी प्रहरीले उनलाई पक्राउ गरेको हो। थप अनुसन्धान तथा कारबाहीको लागी भन्सार कार्यालय गौचरमा पठाइएको छ।




















