बिहीबार इटहरीको तायारिप्चि भवनमा धेरै मान्छेहरुको हुल थियो । धेरै जना मेचमाथि बसिरहेका थिए । एउटा कुनामा केही महिलाहरु गित गाउँदै थिए ...

उकालो बाटो भारि है बोक्दा पसिना तुरुरु
पसिना तुरुरु ए मेरि लै लै पसिना तुरुरु....

natak11
महिलाहरुको गित सुन्दै गरेका मान्छेहरु एकाएक स्तब्ध बने, जब एउटा परिवारका सदस्यहरु भक्कानो छाडेर विलाप गर्न थाले । उनिहरुको विलापसँगै टुँ... गरेर एकहोरो शंख बज्यो अनि गुञ्जियो ‘‘राम नाम सत्य हो...’’ बुझ्दा थाहा भयो बिर बहादुरको मृत्यु भएको रहेछ ।।

बिर बहादुर नाटक “बहुला काजीको सपना”का एक पात्र हुन् । बिर बहादुरको मृत्युको यो दृश्य यही फागुन १९ देखि फागुन ३० गते सम्मका लागि इटहरीको तायारिप्चि भवनमा मञ्चन भइरहेको नाटक “बहुला काजीको सपना”को हो ।

natak13
गरिब निमुखा वर्गको उत्थान र वर्ग सङ्घर्षको मिठो कथा बोकेको नाटकका लेखक विजय मल्ल हुन् । ’क्याम्पस थिएटर सिजन १’ नाम दिएर नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू सुनसरीको आयोजनामा नाटक मञ्चन भइरहेको हो ।

कलालय इटहरीले नाट्य प्रशिक्षण गराएको नाटकको निर्देशन जनता बहुमुखी क्याम्पसका विद्यार्थी रोशन आचार्यले गरेका हुन् भने ललिता विश्वकर्मा, सरोज घिमिरेको सहनिर्देशन रहेको छ । नाटकका विभिन्न पात्रका भुमिका एवं अन्य सम्पूर्ण तयारी क्याम्पसका विद्यार्थीहरूले नै गरेका हुन् । नाटकमा डेभिड बिष्ट, विकास श्रेष्ठ, निशान राई, चन्द्र प्रसाद राई, प्रतिमा पौडेल, उषा भण्डारी, निशा भण्डारी, हिमा पौडेल, प्रशोना विश्वकर्मा, ललिता विश्वकर्मा, रोजीका नेपाल, स्वेता कार्की, प्रकाश चौलागाई, जैनब खान, चिरन थापा, भवानी ढकाल, माया पूरी, करण प्याकुरेल, सरोज घिमिरे, रोशन आचार्य, प्रबेश बस्नेतलगायतले अभिनय गरेका छन् ।

natak6
११ दिन सम्म चल्ने नाटक प्रदर्शनीको टिकट मूल्य तीन सय, पाँच सय र एक हजार रुपैयाँ रहेको छ भने विद्यार्थीहरूलाई ५० प्रतिशत छुटको व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ । इटहरीमा नाटक प्रदर्शनी सम्पन्न भएपछि धरान र काठमाडौँमा समेत प्रदर्शनी गर्ने योजना रहेको आयोजकले बताएको छ ।