काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सीप सिकेर स्वदेशमा काम गर्छु, नेपालमा रोजगार र स्वरोजगारका धेरै सम्भावना छन् भन्ने सोच विकास गर्न आवश्यक रहेको बताएकी छिन्। मंगलबार बिहान सुरु भएको सीप मेलाका कक्षा, तालिम सञ्चालन हुने ठाउँ र तालिम व्यवस्थापनको निरीक्षणका क्रममा डंगोलले उक्त कुरा बताएकी हुन्।
उनले सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा, रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि कार्यक्रमका फोकल पर्सन शान्ता पहाडी, रोजगार संयोजकहरु देवेन्द्र केसी, अजय पौडेलले तालिमसँग सम्बन्धित व्यवस्थापकीय पक्षमा जानकारी गराएका थिए। त्यस क्रममा प्रशिक्षार्थीहरुसँग अन्तरक्रिया गर्दै उपप्रमुख डंगोलले अपेक्षाका बारेमा जानकारी लिएकी थिइन। प्रशिक्षार्थीहरुले सीप विकासका विशिष्ट कक्षाहरुको अवसरको अपेक्षा राखेका थिए।
सीप मेलामा १० विधाका ३० वटा पेशासँग सम्बन्धित तालिम चलिरहेका छन्। २९ वटा पेशा राखिएकोमा मोबाइल रिपेयरिङ्को अत्याधिक माग आएपछि यो पेशा थप गरिएको हो।




















