बेलबारी : मोरङको बेलबारी नगरपालिका ३ स्थित टुक्रे खेल मैदानमा फुटबल प्रतियोगिता सुरु भएको छ। स्थानीय बेलबारी फुटबल क्लबको आयोजनामा आज शुक्रबार सुरु भएको प्रतियोगिता साउन ६ गतेसम्म चल्नेछ। गोल्डकपजस्ता प्रतियोगिताहरू आयोजना नभएको अवस्थाका बीच खेलाडीहरूसँग भेटघाट तथा अभ्यासका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक बेलबारी फुटबल क्लबका टोली कप्तान राजकुमार राईले बताए।
उनका अनुसार प्रतियोगितामा मोरङका सात र सुनसरीको एक गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। दैनिक दुई खेल खेलाइने प्रतियोगितामा प्रत्येक खेलको अवधि ७० मिनेटको हुनेछ भने खेलको ३५ मिनेटमा हाफ भएको मानिनेछ।
आज हुने प्रारम्भिक प्रतिस्पर्धाअन्तर्गत पहिलो खेलमा लेटाङ फुटबल क्लबले डाँगीहाट फुटबल क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा जहदा फुटबल क्लब र बेलबारी फुटबल क्लबबीच भिडन्त हुनेछ।
प्रतियोगिताको फाइनल स्पर्धाका विजेता टोलीले नगद २० हजार तथा उपविजेताले नगद १५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ।