हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको हुनाले देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
जसको कारण हाल कोशी र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा सामान्य बदली रहेको छ। बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
आज दिउँसो भने देशभर मौसम सामान्य रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली लगायत अन्य प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।
आज राति देशभर आंशिक बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली लगायत अन्य प्रदेशका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आगामी २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।




















