बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ।
रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको थियो। उक्त गाडीमा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा र केही कर्मचारीहरु सवार थिए।
बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले दुर्घटनामा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको बताए। ‘गाउँपालिका उपाध्यक्षको मृत्यु भएको पुष्टि भएको छ। अरुको भने सनाखत हुन बाँकी छ,’ उनले भने।
उक्त गाडीमा गाउँपालिकाका कर्मचारीहरु पनि थिए। तर कोको थिए भन्ने खुलेको छैन।
रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) माधव शर्माका अनुसार गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा एक/डेढ हप्ताअघि काठमाडौँ आएकी थिइन्। काठमाडौँबाट फर्किने क्रममा उनी सवार गाडी बागलुङमा दुर्घटना भएको जानकारी पाएको प्रजिअ शर्माले बताए।




















