काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा साबिक विजेता बङ्गलादेश सेमिफाइनलमा प्रवेश गरेको छ।
बुधवार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा बङ्गलादेशले भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै समूह ‘ए’बाट विजेताको हैसियतमा सेमिफाइनलमा स्थान पक्का गरेको हो।
यो समूहबाट भारत उप विजेताको हैसियतमा सेमिफाइनलमा पुग्दा पाकिस्तान भने बाहिरिएको छ।
बङ्गलादेशको चार अङ्क भएको छ भने भारतको तीन अङ्क रहेको छ। पाकिस्तान भने एक अङ्कसहित प्रतियोगिताबाट बाहिरिन पुग्यो।
बङ्गलादेश र भारतबीचको बुधवारको खेलमा सबै गोल पहिलो हाफमा निस्किएका थिए।
बङ्गलादेशका लागि तोहुरा खातुनले २ गोल गर्दा अफिला खान्दाकरले एक गोल गरिन्। भारतकी बाला देवीले गरेको गोल सान्त्वनामा परिणत भयो।
बङ्गलादेशले १८औँ मिनेटमा अग्रता लिएको थियो। जब कप्तान सविना खातुनको कर्नरमा भारतीय गोलरक्षकको कमजोरीको फाइदा उठाउँदै अफिदा खान्दाकरले गोल गर्दै अग्रता दिलाइन्।
२९औँ मिनेटमा बङ्गलादेशका लागि ऋतु पूर्णा चक्माले गरेको क्रसमा तोहुरा खातुनले गोल गर्दै अग्रता दोब्बर पारिन्।
४३औँ मिनेटमा तोहुराले व्यक्तिगत दोस्रो गोल गर्दा बङ्गलादेश ३–० ले अघि बढेको थियो। ४४ औँ मिनेटमा भारतकी बाला देवीले गोल गर्दै अन्तर कम गरिन्।
तर, दोस्रो हाफमा थप गोल नभएपछि अन्ततः बङ्गलादेश ३–१ को जीतका साथ समूह विजेता बन्न सफल भयो।
यसैबीच, नेपाल रहेको समूह बीको खेल बिहीबार हुने छ। नेपालले बिहीबार श्रीलङ्कासँग खेल्दा भुटान र माल्दिभ्स आमने सामने हुने छन्।




















