कर्णाली प्रदेशमा हुने १० औँ राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन गरिएको छ।
बुधवार त्रिपुरेश्वर स्थित खेलकुद परिषद्को सभाहलमा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा आगामी चैत्र २३ गते देखि ३० गतेसम्म सञ्चालन हुने १० औँ राष्ट्रिय खेलकुदको सचिवालयको उद्घाटन गरिएको हो।
प्रतियोगिताको सम्पूर्ण तयारी, प्रतियोगिता अवधिभरको व्यवस्थापकीय काम सचिवालयबाट नै हुने छ।
कार्यक्रममा परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुदको सहभागिताको सङ्ख्या जम्मा दुई सय १५ जनाको रहेकोमा यो वर्ष सात सय भन्दा माथिको सङ्ख्यामा सहभागिता गराउने टिम पनि रहेको बताए। सहभागीको सङ्ख्यालाई हेरेर ढोका बन्द नगर्ने भन्दै उनले यसका निम्ति बजेटको व्यवस्था पनि गरेको जानकारी गराए।
उनले भने, ‘विगतको नवौँ राष्ट्रिय खेलकुदको सहभागिताको सङ्ख्या हेर्ने हो भने जम्मा दुई सय १५ जनाको सहभागिता थियो। तर अहिले चाहिँ सात सय भन्दा माथिको सहभागिता गराउने टिम पनि छ। दुई सय र सात सयबीचको प्रतिस्पर्धाले के हुन सक्छ भन्ने पनि छ। तर यसमा हामीले ढोका बन्द गरेको छैनौँ। यसका निम्ति पनि बजेटको व्यवस्था गरेका छौँ।’




















