राष्ट्रिय मातृभूमि पार्टीले प्रथम स्थापना दिवसको अवसर पारेर कुशासन, भ्रष्टाचार र बेथिति विरुद्ध सङ्घर्षका कार्यक्रम घोषणा गरेको छ।
शुक्रवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी वर्तमान संसदीय व्यवस्थाबाट देश र जनताले न्याय, समृद्धि र सुशासन नपाउने भएकाले यसलाई फाल्नु पर्ने उद्घोष गरेको छ।
सो पार्टीका अध्यक्ष रामशरण पाण्डेले देश एकपछि अर्को गर्दै असफलताको दिशामा अभिमुख हुँदै गएकाले त्यसलाई रोक्न आफ्नो पार्टीले सङ्घर्षका कार्यक्रम घोषणा गरेको बताए।
पार्टीका वरिष्ठ नेता केवी लिम्बुले संसदीय व्यवस्था फाल्नका लागि सम्पूर्ण देशभक्तहरू एक ठाउँमा आएर सङ्घर्ष गर्नुपर्ने धारणा राखे। वरिष्ठ क्याप्टेनसमेत रहेका लिम्बुले पहिचानवादी, राजावादी, माओवादीदेखि हिन्दुवादीसम्म सबैले आ–आफ्ना एजेण्डा त्यागेर आन्दोलनमा जुट्नुपर्ने बताए। उनले थप भने,‘देशको प्रमुख दुष्मन संसदीय व्यवस्थालाई फालेर प्रत्यक्ष जन–निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था ल्याउनुपर्छ।’
पार्टीका उपाध्यक्ष तथा अर्थविद् टुलराज बस्यालले देशको अर्थतन्त्र खस्किएर देश असफलतातिर जानुमा संसदीय व्यवस्था जिम्मेवार भएकाले त्यसलाई फाल्नुपर्ने धारणा राखे। पार्टीका युवा नेता आर।के ढकालले दिनदिनै हजारौँको सङ्ख्यामा युवा पलायन रोक्न देशमा उनीहरूको भविष्य सुनिश्चितताको लागि आफ्नो पार्टी लड्ने प्रतिबद्धता जाहेर गरे।
सुशासन एवं नेपालवादका अभियन्ता तथा पार्टीका महासचिव गोविन्द गिरीले स्थापना दिवसको अवसरमा देश व्यापिरुपमा आन्दोलनको घोषणा गरेका हुन्। गिरीले भोलि २०८१ फागुन १० गते काठमाडौँको शान्ति वाटिकामा देशको कुशासन, भ्रष्टाचार र बेथिति विरुद्ध मातृभूमि जनजागरण तथा झाडु कुचो कार्यक्रम बिहान ८ः३० बजेदेखि सुरुवात गरेर त्यसलाई देशैभरि बिस्तार गरिने घोषणा कार्यक्रम सार्वजनिक गरे।
उनले २० गते माइतीघर मण्डला काठमाडौँ, २१ गते प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, २२ गते हेटौँडा बुद्ध चोक, २३ गते पर्सा वीरगन्ज, २४ गते रौतहटको माधवपुर, २५ गते धनुषाको जनकपुर, चैत्र पहिलो साता सुदूरपश्चिम र चैत्र दोस्रो साता पूर्वको कोशीमा मातृभूमि जनजागरण तथा झाडु कुचो कार्यक्रम गर्ने सार्वजनिक गरे।
कार्यक्रममा पार्टीका सचिव तोप गुरुङले मन्तव्य, पार्टी केन्द्रीय नेतृ गंगाकुमारी थापाले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई उप–महासचिव लक्ष्मीदत्त भट्टले सञ्चालन गरेका थिए।




















