मोरङको पथरिशनिश्चरे-१ को पञ्चायत माविका कानुन समूहका छात्र-छात्राहरूले लेटाङ नगरपालिकाको न्यायिक समितिको इजलास तथा न्याय निरुपण सम्बन्धी अन्तरक्रिया गरेका छन्।
आज शुक्रवार कक्षा-११ र १२ का विद्यार्थीहरूले उक्त पालिकाका प्रमुख भूपेन्द्र कुमार लावती, न्यायिक समितिकी संयोजक तथा उप प्रमुख कृष्ण कुमारी निरौला पोख्रेल सहितका जनप्रतिनिधिहरूसित अन्तरक्रिया गरेका हुन्।
अन्तरक्रियामा कक्षा १२ की छात्रा प्रभा दाहालले न्यायिक समितिमा वादी-प्रतिवादी बाहेक अन्य हेर्न पाउँदैनन् ? भनेर जिज्ञासा राखेकी थिइन् भने अर्की छात्रा निमा चेम्जोङ र छात्रा मिमोसा तामाङले न्यायिक समितिले आफ्नो न्यायिक समितिले विवादहरू कसरी निरूपण तथा सम्पादन गर्दछ रु भनेर सवाल गरेकी थिइन्।
अन्तरक्रियामा सवालहरूको जवाफहरू दिँदै लेटाङ नगरकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक कृष्ण कुमारी निरौला पोख्रेलले विद्यार्थीहरूलाई न्याय सम्पादन, प्रक्रिया र विधिहरूका बारेमा अवगत गराउनुभएको थियो। सोही अवसरमा प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीले कानुनी जटिलताहरूका विषयमा चर्चा गर्नु भएको थियो।
सोही क्रममा कक्षा-११ का विद्यार्थीहरूले इजलासमा कसरी न्याय सम्पादन हुन्छ भन्ने प्रत्यक्ष अवलोकन गरेका थिए। न्यायिक निरूपणमा संयोजक जितबहादुर लामा, सदस्य परशुराम निरौला र परामर्शकर्ता शारदा राई समेत सहभागिता रहेको थियो।
उक्त अवसरमा लेटाङ नपाका योजना प्रमुख चेतनाथ गौतम, न्यायिक समितिका सदस्य मुना सार्की र न्यायिक संयोजक नवीन लिम्बु समेतको सहभागिता रहेको पञ्चायत माविका प्रतिनिधि शिक्षक द्वय भूमिप्रसाद पाठक र केशव निरौलाको सहभागिता रहेको थियो।




















