मोरङको लेटाङमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
लेटाङ नगरपालिका–९ बाह्रकोठेका ४२ वर्षीय मनबहादुर लिम्बूको मृत्यु भएको हो। लिम्बू माछा मार्न भनेर सोमबार बिहान ८ बजेतिर घरबाट निस्किएका थिए।
फर्किएर नआएपछि आफन्त र परिवारका सदस्यले खोजी गर्दा घरदेखि करिब ५ किलोमिटर दक्षिणमा रहेको जंगलमा राति ९ बजेतिर मृत फेला परेका थिए।
प्रहरीका अनुसार घटनास्थलको प्रकृति हेर्दा हात्तीको आक्रमणबाट लिम्बूको मृत्यु भएको देखिएको थियो। घोप्टो परेको अवस्थामा उनको शव फेला परेको थियो।
घटनास्थल वरपर हात्तीका पाइलाहरू छन्। घटनास्थलमा शवनजिकै लिम्बूको साइकल पनि फेला परेको छ।
शव पोष्टमार्टमका लागि मदन भण्डारी ट्रमा सेन्टर मङ्गलवारे राखिएको प्रहरीले जनाएको छ।