नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै बेलबारीका स्थानिय युवाहरुले विरोध प्रदर्शन गरेका छन्। विरोध कार्यक्रम पुरानो बेलबारीबाट सुरु भई पेट्रोल पम्प अगाडि कोणसभासम्म पुगेको थियो। विरोध प्रदर्शनको क्रममा युवाहरुले मसाल जुलुस निकाल्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए।
विरोध प्रदर्शनको कोण सभामा स्थानिय युवा रेख बहादुर तामाङ्गले सम्बोधन गर्दै भने, "नेपाल सरकारले जनविरोधी र राष्ट्रघाती सम्झौताका आधारमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ। यो बर्खास्तगी व्यक्तिगत हिसाबले कुलमान घिसिङको मात्र नभएर नेपाली जनतालाई फेरि अध्यारो युगमा धकेल्ने कदम हो।"

रेख बहादुर तामाङ्गले सरकारको यो निर्णयलाई राष्ट्रघाती र भ्रष्टाचारमा डुबेका मन्त्रीहरुको निर्णयको नतिजा मान्दै भने, "आजको यो विरोध प्रदर्शन भनेको केवल बेलबारीको होइन, यो नेपाललाई माया गर्ने र नेपालको उन्नतिको पक्षमा उभिएका सम्पूर्ण नेपाली जनताको आन्दोलन हो।"
यसैबीच, युवाहरुले आफ्नो आक्रोश व्यक्त गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुनः बहालीको माग गरेका छन्। उनीहरुका अनुसार, कुलमान घिसिङको नेतृत्वमा नेपाल विद्युत् प्राधिकरणले धेरै सुधार र प्रगति हासिल गरेको थियो र अहिले उनको बर्खास्तगीले नेपाली जनता र देशलाई ठूलो धक्का पुर्याएको छ।प्रदर्शनमा सयौ युवाहरुको सहभागिता थियो




















