इटहरी। जेठ १५ गते आज देशभर १८ औँ गणतन्त्र दिवस मनाइँदै छ। २०६२÷६३ सालको जनआन्दोलनपछि नेपालले सदियौँदेखिको राजतन्त्रको अन्त्य गर्दै २०६५ जेठ १५ गते संविधानसभा बैठकबाट गणतन्त्रको औपचारिक घोषणा गरेको थियो। 
गणतन्त्र पछिका उपलब्धि संविधान निर्माणका साथै संविधानले प्रत्याभूत गरेका तीन तहको सरकार सञ्चालनमा छन्। जसले आम नागरिकको नजिकको सरकार र शासन प्रणालीको विकेन्द्रीकरण हुनेमा सन्देह नरहेपनि यो व्यवस्थाको विरोध गर्नेहरूको ठुलो जमात छ। 
खर्चिलो प्रणाली, राजनीतिक नेतृत्व नै अनियमिततामा दिनानुदिन मुछिँदै गएपछि जनताले सडकबाटै आन्दोलनका साथ ल्याएको व्यवस्था त्यसैगरी गुम्न सक्ने खतरा समेत उस्तै रहेको छ। कोशी प्रदेशका केही नागरिकहरूले हालको व्यवस्थाप्रति असन्तुष्टि पोखेका छन्।
कोशी प्रदेशकै पूर्वमुख्यमन्त्री केदार कार्कीले प्रदेशको दिगो विकासका लागि मानव संसाधनको विकास अपरिहार्य रहेकोमा जोड दिँदै समग्र विकासको आधार मानवीय पक्ष स्पष्ट रहेको बताए।
कार्कीले गणतन्त्रले नागरिकलाई आफूलाई चिनाउने अवसर दिएको उल्लेख गर्दै अनुशासनमा राख्न सकेमा ठुलो उपलब्धि हासिल गर्न सकिने बताए।
त्यस्तै, शिक्षा सेवी प्रज्वल पराजुलीले नेपाल भन्दा साना देश पनि सङ्घीयतामा सफल भएको तर्क दिँदै नेताहरूले व्यवस्थापनमा कमजोरी देखाएको बताउँछन्।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्रले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानीको मूल्यमा प्राप्त भएको संविधानमार्फत जनता स्वयं सत्ताको स्रोत भएको व्यवस्था सुनिश्चित गरेको उल्लेख गरे। 
उनले अहिलेको संविधान र प्रणालीलाई कमजोर पार्ने प्रयासप्रति चिन्ता व्यक्त गर्दै नागरिकको चाहना र जनादेशअनुसार काम गर्न सबैलाई आह्वान समेत गरेका छन्। गणतन्त्रप्रति वर्तमान परिप्रेक्षमा जनताबाट उठिरहेको आवाजलाई सरकारले ध्यान दिन आवश्यक रहेको छ।