राष्ट्रिय सूचना आयोगले राष्ट्रिय सूचना दिवस देशव्यापी रूपमा मनाउने भएको छ। सरकारले आयोगको आग्रहलाई स्वीकार गर्दै भदौ ३ गतेलाई देशव्यापी रूपमा राष्ट्रिय सूचना दिवस मनाउने निर्णय गरेको हो।
राष्ट्रिय सूचना दिवसलाई देशव्यापी रूपमा भव्यताका साथ मनाउन आयोगले प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यको अध्यक्षतामा मूल समारोह समिति पनि गठन गरेको छ।
सूचनाको हकसम्बन्धी ऐन २०६४ जारी भई लागू भएको मिति २०६४ भदौ ३ गतेलाई सरकारले यसअघि नै राष्ट्रिय सूचना दिवस मनाउने निर्णय गरेपनि यसलाई तीनै तहका सरकारले देशव्यापी रूपमा मनाउने निर्णय भने पहिलो पटक भएको हो।
सूचनाको हक सम्बन्धी जागरण पैदा गर्न एवं सूचना प्रवाहको प्रवर्द्धन गर्न आयोगले नियमित रूपमा अन्तरसम्वाद र छलफल कार्यक्रम गर्दै आएको छ।
गृहमन्त्री रमेश लेखकको आतिथ्यतामा सूचनाको हक सम्बन्धी मन्त्रालय स्तरीय सूचना अधिकारीहरूसँगको अन्तरक्रिया कार्यक्रम यही जेठ ६ गते सम्पन्न भएको छ।
यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा वैशाख १२ गते विभाग स्तरीय सूचना अधिकारीहरूसँग सूचनाको हक सम्बन्धी कार्यक्रम सम्पन्न गरिएको छ।
यसैगरी ,आयोगका कर्मचारीहरूको सीप र क्षमता अभिवृद्धि गर्न जेठ १६ र १७ गते दुई दिनको तालिम सम्पन्न गरिएको छ। आयोगको सूचना अधिकारीको जिम्मेवारी उपसचिव देवेन्द्र कार्कीलाई तोकिएको छ।




















