सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले संसद् खुलाउन सत्तापक्ष र प्रतिपक्षबीच वृहत् छलफल चलिरहेको बताएका छन्।
बुधवार मन्त्री परिषद्को बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सम्भवत आज र भोली मै संसद् खुल्ने धारणा राखेका हुन्।
उनले गृहमन्त्रीको राजीनामा माग गर्नु प्रतिपक्षी दलको अर्थहीन विषय भएको भन्दै एउटा कर्मचारीले गरेको कार्यमा सबै मन्त्रीले राजीनामा दिने स्थिति आउँछ भने सरकार चलायमान हुन गाह्रो हुने बताए।
‘अख्तियारले एउटा कर्मचारी माथि कारबाही सुरु गरेको हो। एउटा कर्मचारीले गरेको गल्तीमा मन्त्रीले राजीनामा दिँदै जाने हो भने देखि सरकार नै चल्दैन,’मन्त्री गुरुङले भने, ‘गृहमन्त्रीको राजीनामा आउँदैन भनेर मैले त्यो बेला नै भनेको थिए। अहिले जसरी संसद् अवरुद्ध भइरहेको छ सत्ता पक्ष र प्रतिपक्ष बिचमा लामै छलफल चलिरहेको छ। अब आज भोलीमा सम्भवत संसद् खुल्ने सम्भावना पनि छ।’
गृहमन्त्रीले राजीनामा दिने कुरा नहुने बताउँदै उनले संसदीय छानबिन समिति के बनाउने र कसरी बनाउने भन्ने विषय महत्त्वपूर्ण रहेको बताए। ‘हाम्रो म्यान्डेड के हो भने मन्त्रीले ती सबै उठिरहेका प्रश्नहरूको विषयमा आफ्नो धारणा राख्ने, प्रतिपक्षले संसद् खोलेर सहयोग गर्नुपर्छ,’ उनले भने।
त्यस्तै, पत्रकार सम्मेलनमा सामाजिक सञ्जालमा चर्चामा रहेको एमाले कार्यकर्ताको झोले अभियानबारे मन्त्री गुरुङले सकारात्मक धारणाले बुझिदिन अनुरोध गरे। जनताको भावना समेटेको झोला बोक्ने एमाले कार्यकर्ताले गर्व गर्नु पर्ने उनको तर्क छ।




















