राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद् बहिष्कार गरेको छ। 
शुक्रवार प्रतिनिधि सभाको बैठक विरोध हुँदा पनि चलेको भन्दै राप्रपाले संसद् बहिष्कार गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बताए। 
उनले भने, ‘जनताले दिएको विश्वासलाई घात नगरौँ। अन्यायको महल कति दिन टिक्ला र झुटको पर्दाले कति दिन छेकिएला। आज नभए भोलि त ढल्नैपर्छ। किनकि सत्यको जित निश्चित हुन्छ। जबसम्म यो भिजिट भिसा प्रकरणमा छानबिन समिति बन्दैन तबसम्म अवरोध जारी रहन्छ। संसदमा एउटा दलको पनि त्यतिकै हैसियत हुन्छ, एक जना सांसदको पनि त्यति नै हैसियत हुन्छ। विरोध हुँदा पनि संसद् चल्छ भने राप्रपाले आज पनि संसद् बहिष्कार गर्छौ।’
यस्तै, उनले भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा नभएको भन्दै सम्पूर्ण राजनीतिक दल र संसदीय दलका सांसदहरूलाई राप्रपाको तर्फबाट मानव बेचबिखनविरुद्ध एकजुट हुन अपिल पनि गरेका छन्। 
उनले भने, ‘यो भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा होइन। सम्पूर्णको साझा मुद्दा हो। एक जना गृहमन्त्रीको कुरा होइन, यो १४ वटा गृहमन्त्रीको कुरा हो। २०६४ सालदेखिको कुरा हो। त्यसैले सम्पूर्ण राजनीतिक दल र संसदीय दलका सम्पूर्ण सांसदहरूलाई राप्रपाको तर्फबाट अपिल छ हामी एक ठाउँमा आऊ। मानव बेचबिखनविरुद्ध एकजुट बनौँ।’