सावित्री देवी स्मृति प्रतिष्ठानले समाजमा योगदान पुर्‍याएका विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ। 
स्व सावित्री देवी न्यौपानेको १४ औँ स्मृति दिवसको अवसर पारेर विभिन्न व्यक्तिहरू सम्मानित भएका हुन्।
बुधवार काभ्रेपलान्चोकको पनौतीमा स्वास्थ्य स्वयंसेविका मनकुमारी लामा, अनिस्मा तामाङ, डा. आशिष लामिछाने र सहकारी अभियन्ता भरतप्रसाद शर्मा सम्मानित भएका छन्। स्वास्थ्य स्वयंसेविका लामा १० हजार, तामाङ १० हजार, अभियन्ता शर्मा २५ हजार र डा. लामिछाने २५ हजार नगदसहित सम्मानित भएका हुन्। 
माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले दोसल्ला र नगदसहित सबैलाई सम्मानित गरेकी थिइन्।
जेष्ठ नागरिकको उपस्थितिमा भएको कार्यक्रममा अध्यक्ष कोइरालाले समाजमा लागु औषधको समस्या बढिरहेको बताइन्। उनले अहिले डिस्को, बार र क्लबमा अवाञ्छित गतिविधि भएकाले त्यहाँ निगरानी बढाउन ध्यान दिनलाई सरकारको ध्यानाकर्षण गराइन्।
१३ देखि १९ वर्षसम्मका बालबालिकाहरूमा यस्तो लत देखिएको र लागुऔषध बिक्री हुनु राम्रो कुरा नभएकोतर्फ ध्यानाकर्षण गराइन्। 
कार्यक्रममा डा.राजेन्द्र कोजू, नेपाली कांग्रेसका नेता मधुप्रसाद आचार्य, युवा अभियन्ता भूषण श्रेष्ठ लगायतले प्रतिष्ठानले खेलेको भूमिकाको बारेमा मन्तव्य दिएका थिए। प्रतिष्ठानले खोपासीका जेष्ठ नागरिकका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। 
अभियन्ता श्रेष्ठले २५ हजार नगद सहयोग गरेका छन्। प्रतिष्ठानको कार्यक्रममा प्रतिष्ठानका आजिवन सदस्य, परिवारका सदस्य, जेष्ठ नागरिक, सञ्चारकर्मीको उपस्थिति रहेको थियो। पनौती ११ का वडाध्यक्ष विपिन लामा, नेपाली सेनाका श्री मेहर गणका गणपति, नेपाल पत्रकार महासङ्घ काभ्रेका पूर्व अध्यक्ष लगायतको उपस्थिति थियो।