काठमाडौँ महानगरपालिकाको वडा नम्बर २९ ले बिहीबार एकै दिन तीन वटा सेवा केन्द्रहरू सञ्चालनमा ल्याएको छ।
महिला सञ्जालले आयोजना गरेको स्थानीय न्याय संवाद कार्यक्रमको अवसरमा महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले ‘मेलमिलाप केन्द्र’, ‘एकल सेवा केन्द्र’ र ‘स्वास्थ्य प्रवर्धन केन्द्र’को उद्घाटन गरेकी हुन्। 
त्यस अवसरमा वडाले उपप्रमुख डंगोललाई स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन भएकोमा वडावासी र वडाकातर्फबाट अभिनन्दन प्रदान गरिएको छ। 
यस्तै टेवुलटेनिसका विभिन्न स्तरमा भएका प्रतियोगिता विजेता इन्दिरा पौड्याल पराजुलीलाई वडाको गरिमा बढाउन योगदान दिएकोमा सम्मान गरिएको थियो।
यस्तै वडा कार्यालयको प्रशासकीय भवन निर्माणमा योगदान गरेका महानगरपालिकाका पूर्व विभागीय प्रमुख शान्ताराम पोखरेलसहित पूर्वजनप्रतिनिधि, स्थानीय राजनीतिक व्यक्तित्वहरूलाई कदर प्रदान गरिएको थियो।  
उद्घाटनपछि कार्यक्रममा बोल्दै उपप्रमुख डङ्गोलले यी केन्द्रहरूबाट प्रवाह हुने सेवाले नागरिकलाई सरकारी कार्यालयमा सेवा लिन गएको अनुभूति होस् भन्ने चाहना भएको बताइन्। 
‘महानगरपालिकाभित्रका सबै विवाद केन्द्रमा आए भने चाहेर पनि सहज न्याय प्रदान गर्न सकिँदैन। यस कारण पदवहालीसँगै मैले वडा स्तरीय मेलमिलाप केन्द्र स्थापना गर्ने र वडा स्तरीय महिला सञ्जाल गठन गर्ने निर्णय गरेकी थिए। आज सबै वडामा दुवै संयन्त्रले स्थापना भएर प्रभावकारी काम भइरहेको छ,’ उनले भनिन्। 
उनले महिला नेतृत्वको कुरा गर्दै भनिन्, ‘यी दुई वटै प्रणाली महिलाहरूको नेतृत्वमा सञ्चालित छन्। महिलाले नेतृत्व गरे पनि जिम्मेवारी भनेको लैङ्गिक हिंसा विरुद्धका काम हो। यसमा हिंसामा परेका पुरुषहरूको कुरा पनि सुनुवाइ हुन्छ।’
यसैगरी काठमाडौँ महानगरपालिकाको वडा नं. २९का अध्यक्ष एवं न्यायिक समितिका सदस्य कुश ढकालले लोकतन्त्रको मर्म नै जनताको समस्या उनीहरूकै ठाउँमा समाधान गरिदिनु रहेको बताए। 
महिला सञ्जालका संयोजक रेणु श्रेष्ठका अनुसार २०७९ कार्तिक १३ गते सञ्जाल गठन भए यता ९१ वटा विवाद दर्ता भएका छन् भने दर्ता भएका विवादमध्ये ८८ प्रतिशत मेलमिलापका माध्यमबाट समाधान भएका छन्।