झापाको झापा गाउँपालिका–४ चौधरी टोलमा ३ जना सवार मोटरसाइकल शुक्रवार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
हुलाकी सडक खण्डअन्तर्गत पन्थपाडाबाट झापा बजारतर्फ जाँदै गरेको ‘अनटेस्ट’ अपाची मोटरसाइकल बिहान ११ः३५ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार झापा–३ का २२ वर्षीय साहिदुल हकको मृत्यु भएको हो। दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल पुर्याएको केही बेरमै चिकित्सकले मृत घोषित गरेका थिए।
दुर्घटनामा मोटरसाइकल चालक झापा–४ का २४ वर्षीय इनरुल भनिने फकिर अली र पछाडि सवार २१ वर्षीय सोहिल मियाँ घाइते भएका छन्।घाइतेमध्ये अलीको अवस्था गम्भीर छ। उनको बी एन्ड सी अस्पतालमै उपचार भइरहेको छ भने मियाँको बिर्तासीटी अस्पतालमा उपचार भइरहेको छ।
मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।