राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वमन्त्री तथा समाजवादी चिन्तनका ढुंण्डीराज शास्त्रीको निधनमा दुःख व्यक्त गर्दै परिवारलाई समवेदना पठाएका छन्।
राष्ट्रपति पौडेलले समवेदना पठाउँदै ढुंण्डीराजलाई लोकतन्त्रप्रतिको अटुट आस्था, लोकतन्त्रमा साँच्चै जनता अधिकार सम्पन्न बन्नुपर्छ भन्ने मान्यता राख्ने नेता रहेको उल्लेख गरे।
राष्ट्रपति पौडेलले वि.सं.२०१० मा भारतको वाराणसीमा अध्ययन गर्दै गर्दादेखि नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहनुभएका ढुंण्डीराजले पञ्चायतको कालरात्रीमा गुल्मी, पाल्पा र अर्घाखाँचीलगायतका जिल्लामा प्रजातन्त्रको पक्षमा युवालाई संलग्न गराउने खेलेको भूमिका सदाका लागि स्मरणीय रहेको बताए।
राष्ट्रपति पौडेलले समवेदना सन्देशमा भनेका छन् –‘ढुंण्डीराजले विसं २०१७ साल पुस १ गतेको ‘कु’ पछि भारतमा निर्वासित जीवन बिताउँदाका बखत गोरखपुर महाविद्यालयमा केही समय अध्यापन गराई प्रजातन्त्रको पक्षमा पर्चा पम्प्लेट र पत्रिका प्रकाशित गरी नेपाल पठाएको कुरा मेरो स्मरणमा ताजै छ।’
उनले २०४८ सालमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर एउटै मन्त्रीपरिषद्मा रहेर काम गर्दाको र २०५१ सालमा प्रतिनिधिसभा सदस्यमा रुपमा ढुंण्डीराजको भूमिका मेरो स्मृतिमा अझै ताजै रहेको उल्लेख गरे।
राष्ट्रपति पौडेलले पठाएको समवेदना सन्देश शुक्रवार ढुंण्डीराजको परिवारलाई कौशलटार पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल, र प्रमुख स्वकीय सचिव अवज्ञा पौडेलले हस्तान्तरण गरे।