काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन (केयूएसओइडी) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को सहकार्यमा तयार गरिएको ‘प्रि–स्कुल पाठ्यक्रम’ नेसनल प्याब्सनलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
आइतबार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै काठमाडौँ विश्वविद्यालयका डिन प्राडा।बालचन्द्र लुइँटेलले पाठ्यक्रम नेसनल प्याब्सनकी केन्द्रीय अध्यक्ष गीता राणा क्षेत्रीलाई हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा अध्यक्ष क्षेत्रीले देशभरका प्रि–स्कुलहरू आ–आफ्नै शैलीमा सञ्चालन हुँदै आएको बताउँदै अब साझा पाठ्यक्रमले शिक्षामा समानता ल्याउने बताइन्। 
सोही क्रममा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनअन्तर्गत प्रारम्भिक बाल शिक्षा तथा व्यावसायिक अध्ययन विभागकी प्रमुख डा.पार्वती ढुङ्गानाले पाठ्यक्रम निर्माणको काम शिक्षा वैज्ञानिक, नीति निर्माताहरू, विद्यालय सञ्चालक र शिक्षकहरूबीचको समन्वय र साझा प्रयासबाट मात्र प्रभावकारी हुन सक्ने बताइन्।
उनले विश्वविद्यालय र नेसनल प्याब्सनबीचको सहकार्यले निजी क्षेत्रलाई समेत शैक्षिक सुधारको साझेदार बनाएको पनि बताइन्। 
यस्तै, काठमाडौँ विश्वविद्यालयका डिन प्रा.डा.बालचन्द्र लुइँटेलले शिक्षा संस्थाहरूले डिग्री वितरण गर्ने मात्र होइन सामाजिक रूपान्तरणको लागि प्रेरणादायी भूमिका पनि खेल्नु पर्ने बताए। 
उनले नेपालको शिक्षाले सीमित पाठ्यपुस्तकबाट बाहिर निस्केर सृजनशील, समावेशी र बालमैत्री सिकाइतर्फ अघि बढ्नुपर्ने पनि बताए। 
कार्यक्रममा नेसनल प्याब्सनका पूर्वअध्यक्षहरू पाण्डव हमाल, ऋतुराज सापकोटा लगायतको उपस्थिति रहेको थियो।