आकर्षक रोजगारीको झुठो आश्वासनमा भारतका विभिन्न स्थानमा सयौँ नेपालीहरू बन्धक बनाइएको पाइएको छ ।उत्तराखण्डस्थित काशीपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवक उद्धार लगत्तै अन्य २२ नेपालीको आइतबार साँझ उद्धार गरिएको छ ।
गत बिहीबार नेपाली राजदूतावास, भारतीय प्रहरी र किन इन्डिया नामक सामाजिक संस्थाका निर्देशक नवीन जोशीको अगुवाइमा ती नेपालीहरूको उद्धार गरिएको थियो। आइतबार राती साँझ थप २२ नेपालीको उद्धार गरिएको जोशीले नेपाल न्युज बैंकलाई जानकारी दिए । 
जोशीका अनुसार आइतबार राती उद्धार गरिएका २२ जना मध्ये ९ जना नावालिग छन् । अन्य १८ वर्षमाथिका नेपाली छन्। उनीहरूलाई जङ्गल क्षेत्रबाट भगाउँदै गर्दा उद्धार गरिएको जोशीले जानकारी दिए। 
बन्धक बनाउन सक्रिय गिरोहले उद्धारका लागि भारतीय प्रहरी, किन नेपालको उद्धार टोली आउँदै गरेको सूचना पाएपछि भागेको र बाँकी बन्धक बनाइएका नेपालीहरूलाई घर सारेर राखिरहेको जोशीले बताए।
‘हामीले जङ्गलमा भगाउँदै गर्दा अहिले राती २२ जनालाई उद्धार गर्‍यौँ । बन्धक बनाउने समूहका नाइकेहरूको अहिले भागाभाग भएको छ ।  कतिपयलाई उनीहरूले घर फेरेर लुकाइरहेको भन्ने सूचना आएको छ,’ जोशीले भने । 
निर्देशक जोशीका अनुसार गत बिहीबार उद्धार गरिएका ३५ जनालाई अदालती र प्रशासनिक प्रक्रिया पूरा गरेर मङ्गलवार सम्म नेपाल ल्याउने तयारी भइरहेको बेला थपको उद्धार भएको हो। अन्य पाँच सय बढी बन्धक बनाएको डाटाहरू आफूलाई प्राप्त भएको जोशीले जानकारी दिए।