द्वन्द्वग्रस्त इरानको मशहदमा फसेका तीन नेपालीसहित २७२ भारतीय नागरिक भारत आइपुगेका छन्। नेपाली र भारतीय नागरिक बोकेको विशेष उडान हिजो (बुधवार) राति अबेर नयाँ दिल्लीमा सुरक्षित अवतरण भएको छ।
‘अपरेसन सिन्धु’अन्तर्गत उद्धार गरिएका मानिसहरूको कुल सङ्ख्या ३,४२६ पुगेको छ। विस्थापितहरूले अपरेसन सिन्धु अन्तर्गत द्वन्द्वग्रस्त इरानबाट उनीहरूलाई उद्धार गरेकोमा इरानी र भारतीय सरकारलाई धन्यवाद दिए।
एएनआईसँग कुरा गर्दै इरानबाट फर्किएका एक भारतीय उद्धारकर्ताले भने, ‘म मेरो सरकारलाई, विशेष गरी प्रधानमन्त्रीलाई धन्यवाद दिन्छु। हामीले कुनै कठिनाइको सामना नगरी आइपुगेका छौँ। इरानी र भारतीय दुवै सरकारले धेरै राम्रो व्यवहार गरे।’
अर्का उद्धारकर्ताले भने,‘हामीलाई फिर्ता ल्याएकोमा हामी सरकारप्रति आभारी छौँ। यदि त्यहाँ अवस्था बिग्रिएको भए, फर्कन गाह्रो हुने थियो।’
इरान र इजरायलबीच बढ्दो द्वन्द्वको बिचमा अपरेसन सिन्धु सुरु गरिएको थियो। यता, नेपालले भारत सरकारलाई आफ्ना नागरिकहरूको उद्धारका लागि आग्रह गरेको थियो। परराष्ट्रमन्त्री आरजु राणाले इरानमा १६ जना नेपालीलाई उद्धार गरिदिन आग्रह गरेकी थिइन्।
बुधवार मसहदस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका सात जना नेपालीको उद्धार समेत गरिएको थियो अध्यागमन प्रशासनले एक्जिट परमिट नभएको भन्दै मङ्गलवार उनीहरूलाई फर्काएको थियो।