पछिल्लो समय सामाजिक सञ्जालमा दुर्वचन र दुर्व्यवहार खेपिरहेका गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन्।
मङ्गलवार गृह मन्त्रालय पुगेर गायिकाद्वयले गृहमन्त्री लेखकसँग भेटेका हुन्। उनीहरूले लेखकसँग आफूहरूले भोगिरहेको समस्या सुनाएका हुन्।
पछिल्लो समयमा आफूहरूमाथि सामाजिक सञ्जालबाट हिंसा गर्नेहरूको नाम सार्वजनिक गरिरहेका उनीहरूले गृहमन्त्रीसँग समस्या राखेका हुन्।
गायिका चौहानले भेटपछि लेखेकी छिन, ‘म यहाँसम्म तपाईँहरूको माया र साथले आइपुगेकी हुँ। तपाईँहरूको समर्थन नै मेरो आत्मबल हो। तर सबैले सधैँ राम्रै सोचुन् भन्ने अपेक्षा गर्न सकिन्न, त्यो स्वाभाविक हो। तर जब कुरा व्यक्तिगत जीवनमा आँच पुर्‍याउने तहमा पुग्छन्, गालीगलौज र चरित्र हत्या जस्ता भइरहन्छन्, त्यो सह्य हुँदैन।’
उनले जसले यस्ता कुरा गरिरहेका छन्, ती आफ्ना फ्यान नभएका पनि बताएकी छन्। ‘ती त मेरो मन दुखाउन चाहने मात्र हुन्। त्यसैले आत्मसम्मानको रक्षा गर्न बाध्य भई मैले कानुनी प्रक्रिया अघि बढाएकी छु। यो कुनै रिस वा घृणाले होइन, आफ्नो अस्तित्वको सुरक्षा गर्ने अधिकारले उठाइएको कदम हो’, उनले भनेकी छन्।
यस विषयमा आवश्यक सहयोग गरेकामा गृहमन्त्री लेखकज्यूलाई उनले धन्यवाद दिएकी छन्। ‘तपाईँहरूको साथ र सद्भावनाले मलाई अझ अघि बढ्ने हिम्मत दिएको छ’, उनले भनेकी छन्।  
उनले सोमबार मात्रै नेपाल प्रहरीको भोटाहिटीस्थित साइबर ब्युरो पुगेर ४ जना ‘हिंस्रक’विरुद्ध उजुरी गरेको जानकारी गायिका एलिना चौहानले दिएकी छन्। उनले आफ्नो निवेदन अनुसार अविलम्ब कारबाही गर्न पनि माग गरेकी छन्। 
उनीहरूले सामाजिक सञ्जालमा आएर जथाभाबी लेख्ने र अश्लील गाली गलौच गर्ने विरुद्ध कारबाही गर्न गृहमन्त्रीसँग माग गरेका छन्।