मधेस प्रदेशकी सांसद ललिता दास (तत्मा) माथि लुटपाट प्रयास भएको छ। उनले आफूमाथि गएराति एक समूहले सिराहाको लहानमा लुटपाट र हमलाको प्रयास गरेको सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्।
गएराति साढे १२ः३० बजेतिर जनकपुरबाट लहानस्थित घर जाने क्रममा एनएमबी बैंकको गल्लीमा आफूलाई दुई जना केटाले लखेटेर लुटपाट र हमला गर्ने प्रयास गरेको उनले बताएकी छन्। समयमै भागेर घर पुगेपछि परिवारले ढोका खोलेको र आफ्नो ज्यान जोगिएको उनले लेखेकी छन्।
सांसद ललिताले थाना नजिकै रहेको उनको घर निर आफू असुरक्षित महसुर गरेको भन्दै उनले हाम्रो देशमा के हुँदैछ भनेर प्रश्न गरेकी छन्। उनले लेखेकी छन्, ’आखिर के हुँदैछ हाम्रो देशमा ? किन यति भय, त्रास दिँदैछन् हामीलाई ? क्रमबद्ध रुपमा दलित समुदायको हत्या हुँदैछ। तानाको नजिक मेरो घर हो तर पनि यति असुरक्षित। केही महिना पहिला एक जनालाई मेरै घर अगाडि छुरा प्रहार गरेको थियो। आफ्नै देश, घरमा पनि डर त्रासको माहोल छ। कसरी बाँच्ने ?’
सांसद दासले डिएसपीलाई खबर गर्दा पनि उनले बेवास्ता गरेको समेत बताएकी छन्।




















