रामेछापको गोकुलगंगा गाउँपालिका–३, रस्नालुस्थित खिम्ती खोलामा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु भएको छ। ज्यान गुमाउनेमा गुल्मी जिल्ला घर भएका अन्दाजी ५० वर्षीय निर्मल बुढाथोकी रहेका छन्।

बुधवार साथीहरूसँग खोलामा नुहाउन गएका बुढाथोकी डुबेर बेपत्ता भएका थिए। उनका सबै साथीहरू सुरक्षित रूपमा फर्किए पनि उनी खोलाबाट ननिस्किएपछि खोजी थालिएको थियो। खोजी गर्ने क्रममा खिम्ती खोलामा शव फेला परेको प्रहरीले जनाएको छ। 

बुढाथोकी हिमाल पावर हाइड्रोमा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए। खिम्ती खोलाको नामाडी र बेताली खोला संगमस्थलमा जमेको गहिरो दहमा पौडी खेल्ने क्रममा उनी डुबेका थिए। 

शवलाई पोस्टमार्टमका लागि प्रहरीले मन्थली ल्याइएको छ। शव मन्थली नगर अस्पतालमा राखिएको छ।