पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–४ बलियामा टिपरको ठक्करबाट एकै परिवारका ६ जना घाइते भएका छन्।
‘ओभरटेक’ गर्ने क्रममा टिपरले सीटी सफारीलाई ठक्कर दिँदा बिहीबार साँझ ७ बजेतिर दुर्घटना भएको हो। बलियाबाट गछियातर्फ जाँदै गरेको इटहरी उपमहानगर १ ह ००५९ नम्बरको सफारीलाई गछियातर्फ नै जाँदै गरेको प्रदेश १–०२–००१ ख ९८९६ नम्बरको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार टिपरले ठक्कर दिँदा सफारीमा सवार रहेका सुन्दरहरैँचा–५ की ५३ वर्षीया अमेरिकादेवी यादव, ३१ वर्षीया ज्वाति यादव, २१ वर्षीया रिंकु यादव, ११ वर्षीया देव्यानी यादव, ९ वर्षीय देवराज यादव र ५ वर्षीया दीपिका यादव घाइते भएका हुन्। घाइते हुनेहरु एउटै परिवारका रहेको प्रहरीको भनाइ छ।
सामान्य अवस्थाका उनीहरुको इटहरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। सफारी चालक इटहरी–३ का ४७ वर्षीय सुनकुमार लिम्बू र टिपर चालक सुन्दरहरैँचा–६ का ३५ वर्षीय सागर चौधरीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।